नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो। फिलिपिन्सका जोर्ड अलेग्राले ३२ बलमा २ चौकासहित २७ रन जोडे। यस्तै डानियल स्मिथले २७ बलमा २ चौकासहित २० तथा जोनाथन हिलले २९ बलमा ११ रन थपे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले ९ रनमात्रै खर्चिए। यस्तै गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए। त्यसअघि ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो।
नेपालका ओपनर कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। उनले १३ चौका र एक छक्का प्रहार गरे । योसँगै उनी उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । उनी अघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्।
पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रन र ज्ञानेन्द्रले सोहीवर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए । कुशलसँग तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीले १७१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स अघि बढाएका थिए।
दीपेन्द्रले ४७ बल खेल्दै ८३ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे। योसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने। यसअघि उनले यसै प्रतियोगिताअघि नेपालले खेलेको पाँच देशीय क्रिकेट शृंखलामा ओमानविरुद्ध ७३ र गत अप्रिलमा कीर्तिपुर मैदानमा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा ६० रनको पारी खेलेका थिए ।
नेपालबाट पारस खड्का र कुशल भुर्तेलका नाममा ४-४ वटा अर्धशतक छन्। यस्तै विनोद भण्डारीले दुई अर्धशतक पूरा गर्दा ज्ञानेन्द्र मल्ल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोराले एक एक अर्धशतक छन्। नेपालका अर्का ओपनर आसिफ शेख शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए। यस्तै लोकेश बम ६ रनमा नटआउट रहे।
फिलिपिन्सविरुद्धको २१८ रन नेपालले टी-२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो योगफल हो। यसअघि नेपालले कीर्तिपुरमा नेदरल्याण्ड्सविरुद्ध २३८ र भुटानविरुद्ध २३६ रन बनाएको थियो । फिलिपिन्सका ड्यानियल स्मिथ, मिगी पोडोस्की र गुरभीपिनदर चोहानले १-१ विकेट लिए।
नेपालखबर