Hamro Patra
ट्रकको ठक्करबाट युवतीको मृत्यु, लम्की अशान्त

लम्की, बैशाख १७
कैलालीको लम्की क्षेत्रको जनजीवन अझै सामान्य बन्न सकेको छैन । आज बिहान ट्रकको ठक्करबाट एक युवतीको मृत्युको विरोधमा स्थानीयले आन्दोलन चर्काएका छन । स्थानीयको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि लम्कीको जनजीवन झन उग्र बनेको छ ।

प्रहरी र स्थानीयबीच भएको झडपमा १३ जना घाईते भएका छन । घाईते हुनेमा एक जना स्थानीय प्रेमराज मुडभरी र अरु सबै सुरक्षाकर्मी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । घाईते सबैको स्थानीय लालरत्न अस्पतालमा उपचार भैरहेको छ ।

Khadga Memorial And Janajagriti

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास र हवाई फायर गरेको जनाएको छ । कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सिना घटनास्थलमा पुगेका छन । लम्कीमा थप सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्की बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत सुनिता रावल भण्डारी (१९) को मृत्यु भएको छ । उनलाई ट्रकले लम्कीस्थित विद्युत कार्यालयको गेट नजिक ठक्कर दिएको स्थानीयले बताए । स्थानीयका अनुसार ठक्करबाट घाईते भएकी युवतीलाई ट्रकले ब्याक गरेर च्यापेको थियो ।

ट्रकले ब्याक गरेर च्यापेपछि स्थानीय बासिन्दा निकै आक्रोशित बनेका हुन । उनीहरुले सवारी साधनमा ढुंगामुडा गर्नुका साथै पूर्वपश्चिम राजमार्ग ठप्प पारेका छन । स्थानीयको विरोधका कारण राजमार्गमा सवारीका साधन चल्न सकेका छैनन् । मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् ।

प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको डिएसपी बस्नेतले जानकारी दिए । उनले घटनाका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको बताए । यसअघि बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको लम्कीका सञ्चारकर्मी रमेश बजगाईले जानकारी दिएका छन ।
तस्विरः नेत्रप्रसाद जैशी

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update