टीकापुुर, फागुन ४
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको मुख्य लगानीमा बनाउन खोजिएको वेतन कणर्ाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रवद्र्धक कम्पनी ‘वेतन कणर्ाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी’ले निर्माण अनुमतिका लागि आवेदन गर्ने अन्तिम तयारीमा जुटेको हो ।
सुर्खेतको चौकुने र अछामको ढकरी गाउँपालिका क्षेत्रमा कणर्ाली नदीमा बनाउन प्रस्ताव गरिएको ४३९ मेगावाट क्षमताकोे आयोजनाको निर्माणका लागि छिट्टै आवेदन गरिने कम्पनीका कार्यकारी निर्देशक दीपक रौनियारले जानकारी दिए ।
कम्पनीले आयोजना निर्माणका लागि विस्तृत इन्जिनियरिङ अध्ययन र सम्भाव्यता अध्ययन प्रतिवेदन छ महिनाअघि नै प्राप्त गरिसकेको छ । ‘सबै अध्ययनले आयोजना लागत र प्रविधिक हिसाबले आकर्षक देखाएको छ, अब सञ्चयकर्ताको आयोजनाका रूपमा निर्माण अनुमतिका लागि आवेदन गर्दैछौँ’ उनले भने ।
आयोजनाको सर्वेक्षण अनुमतिअनुसार ६८८ मेगावाटमा बनाउने भनिए पनि अध्ययनले ४३९ मेगावाटमा बनाउन उपयुक्त हुने देखिएको उनले जानकारी दिए । ३५ प्रतिशत स्वपुँजी र ६५ प्रतिशत ऋण लगानीबाट बनाउने निधो भएको सो आयोजनामा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता मुख्य प्रवद्र्धक बनाउन लागिएको छ ।
आयोजनामा स्वदेशी वित्तीय संस्थाहरूसँग नै ऋण लगानीका लागि छलफल भइरहेको जनाइएको छ । सो आयोजनामा ग्लोबल आईएमई बैङ्कको नेतृत्वमा तथा नेपाल पूर्वाधार विकास बैङ्क र सनराइज बैङ्कले चासो देखाइरहेका छन् ।
‘वित्तीय सम्झौताका लागि स्वदेशी बैङ्क तथा वित्तीय संस्थाहरूसँग अन्तिम परामर्श जारी छ । यो टुङ्ग्याएर निर्माण अनुमतिका लागि आवेदन गर्दैछाँै’ उनले भने । कम्पनीमा सञ्चयकर्ताको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, सर्वसाधारणको १३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशत, आयोजना प्रभावितलाई १० प्रतिशत र न्यून आय भएका महिलालाई दुई प्रतिशत सेयर संरचना तय गरिएको छ ।
आयोजना निर्माणको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७२ अर्ब रुपियाँ अनुमान गरिएको छ । आयोजना निर्माण अगाडि बढाउन आवश्यक पर्ने पहुँच मार्ग, क्याम्प हाउस तथा अडिट टनेल निर्माणका काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका लागि आवश्यक पर्ने १० मेगावाट बिजुली आपूर्ति गर्न प्रसारणलाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
इन्जिनियरिङ अध्ययनअनुसार अयोजनाका लागि कणर्ाली नदीमा १४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत भूमिगत विद्युत् गृहमा पानी पु-याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिन्छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टक पाइपबाट टर्बाइनमा खसालिने छ । त्यसपछि सो पानी एक सय मिटर लामो टेलरेस टनेलबाट बाहिरिनेछ ।
विद्युत गृहमा तीनवटा टर्बाइन रहनेछन् । वार्षिक दुई हजार २९९ गिगावाट/घण्टा विद्युत् प्राप्त हुनेछ । यसमध्ये सुक्खा याममा ३० प्रतिशत र वर्षातमा ७० प्रतिशत ऊर्जा प्राप्त हुनेछ । कर्मचारी सञ्चय कोषले कोषका बचतकर्ताले बचतमा प्राप्त गर्ने वार्षिक बोनसबाट १० प्रतिशत यो आयोजनाका लागि छुट्याउने गरेको छ । २०७३ सालबाट काट्न सुरु गरिएको यस्तो रकम करिब सात अर्ब रुपियाँ सङ्कलन भइसकेको जनाइएको छ ।
साभारः गोरखापत्र