Hamro Patra
कैलाली र डोटीका एक लाख २९ हजार विद्यार्थीले खोप लगाए

धनगढी, फागुन २

सुदूरपश्चिमको कैलाली र डोटीका झण्डै एक लाख २९ हजार विद्यार्थीले कोरोना विरुद्धको खोप लगाएका छन् । दुबै जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका धेरैजसो विद्यार्थीलाई खोप लगाइ सकिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलाली र डोटीका अनुसार एक लाख दुई हजार ७१ र डोटीमा २७ हजार तीन शय विद्यार्थीले खोप लगाएका छन् । कैलालीमा माघ १७ देखि २७ गतेसम्म खोप अभियान सञ्चालन गरेर गरिएको थियो । यो जिल्लामा लक्ष्यको ९५.५ प्रतिशत विद्यार्थीलाई पहिलो मात्रा खोप प्रदान गरिएको छ ।

CMA Staff

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो जिल्लामा एक लाख नौ हजार २० जना विद्यार्थीलाई मोडर्ना खोप लगाइने लक्ष्य रहेको छ । विद्यालय सञ्चालनमा आइसकेकाले खोप लगाउन छुटेका बाँकी विद्यार्थीलाई अब विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति प्रतिमा महताले यसअघि विद्यालय बन्द भएपछि केही विद्यार्थी यत्रतत्र गएर खोप लगाउन छुटेका बताइन् । छुटेका विद्यार्थीलाई विद्यालय सञ्चालन भएपछि खोप लगाउने तयारी रहेको उनले जानकारी दिइन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी २१ हजार ३१४ जना विद्यार्थीलाई मोडर्नाको पहिलो डोज खोप लगाइएको छ ।

यस्तै, बर्दगोरिया गाउँपालिकाका चार हजार ५९६, घोडाघोडी नगरपालिकाका १० हजार ३०७, गौरीगङ्गा नगरपालिकाका सात हजार ८६० जना विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइएको छ ।

यसैगरी, कैलारी गाउँपालिकामा चार हजार १२१, भजनी नगरपालिकामा चार हजार ८४१, टीकापुर नगरपालिकामा ११ हजार ८४६ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

जोशीपुर गाउँपालिकामा तीन हजार ३६७, जानकी गाउँपालिकामा चार हजार ३२५, लम्की-चुहा नगरपालिकामा १२ हजार १५५ जना विद्यार्थीलाई खोप लगाइएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

यसैगरी, गोदावरी नगरपालिकाका १२ हजार ४०९, चुरे गाउँपालिकाका दुई हजार ३२२ र मोहन्याल गाउँपालिकाका दुई हजार ६०८ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । विद्यार्थीहरुलाई एक महिनापछि दोस्रो मात्रा खोप लगाइने कोभिड स्रोत व्यक्ति महताले बताइन् ।

यसअघि, कात्तिकमा १२ देखि १७ वर्षका विद्यार्थीलाई फाइजर खोप लगाइएको थियो । कैलालीका दुई हजार ५८१ जना विद्यार्थीले फाइजरको खोप लगाइएको उनले जानकारी दिइन् ।

तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि गत पुस मसान्तबाट विद्यालय बन्द गरिएको थियो । विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गरिदैं आइएकोमा आइतबारबाट विद्यालय खुला गरिएका हुन् ।

कोरोना संक्रमण दर न्यून भएपछि सरकारको निणर्यअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । यस्तै डोटीका २७ हजार ३०० विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ ।

यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो ।

डोटी नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार तीन सय बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो । यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । भारतबाट फर्कनेहरुमा पनि संक्रमण न्यून देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update