अर्जुन शाह
धनगढी, फागुन २
उमेर हदमा रहेको कैफियत बाहिरिएपछि सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन् । उनले सभामुख अर्जुनबहादुर थापासमक्ष दिएको राजीनामा आइतबार स्वीकृत भएको छ ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्म मिति रहेको भेट्टिएपछि धामीको नियुक्ति नै गैरकानुनी भएको भन्दै विवाद उत्पन्न भएको थियो । धामीले आफ्नो उमेरका बारेमा प्रश्न उठेकाले सभामुख थापाको परामर्शमा राजीनामा दिएको बताएका छन् ।
सचिव धामीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा एकरुपता छैन । शैक्षिक प्रमाणपत्रमा २०१६/११/२९ रहेकोमा नागरिकतामा भने २०३३ सालमा १८ वर्ष उल्लेख छ ।
प्रदेशसभा सचिव नियुक्त हुने कानुन प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रावधानमा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । नागरिकताअनुसार धामी नियुक्त हुँदाकै बखत ६० वर्ष उमेर कटिसकेको देखिएको छ । धामी ०७६ जेठ २८ गते नियुक्त भएका हुन् ।
प्रदेशसभा सचिवालयका अन्य पदाधिकारीहरुले भने उनी नियुक्त हुने बेला शैक्षिक योग्यताकै प्रमाणपत्र हेरिएको र उमेर ख्याल नगरिएको बताएका छन् ।
साभारः कान्तिपुर