Hamro Patra
आधा नगरबासी विद्युत बिहिन

योगेश रावल
टीकापुर, बैशाख १७
कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका झण्डैं आधा बासिन्दाले विद्युत सेवा पाउन सकेका छैनन् । नगरपालिकाका वडा नं. ४, ५, ७ र ९ मा अझै विद्युत सेवा पुग्न सकेको छैन । अन्य वडा नं. ३ र १२ का केही भुभागमा समेत विद्युत सेवा पुगेको छैन ।

नगरपालिकाका अनुसार विद्युत सेवा पुग्न नसकेका ती वडाहरुमा करिव ४० हजार बासिन्दा बस्दै आएका छन । नगरपालिकाको कुल जनसंख्या ८९ हजार हो । भौगोलिक रुपमा टाढा रहेका मात्रै हैन पूर्वपश्चिम राजमार्गसँगैका भुभागमा बस्दै आएका बासिन्दाले समेत विद्युत सेवा उपभोग गर्न पाएका छैनन् ।

नगरपालिकामा जनप्रतिनिधि आईसकेपछि विद्युत उपभोग गर्ने कुरालाई नगरबासीले प्राथमिकता दिएका छन । स्थानीयको माग अनुसार नै वडा कार्यालयहरुले विद्युत सेवा प्रवाह गर्ने विषयमा बजेट विनियोजन गरेका छन । तर वडा कार्यालयले विनियोजन गरेको सो बजेट खर्च हुन सकेको छैन । गाउँमा विद्युत सेवा पु¥याउने जिम्मेवारीका बारेमा नगरपालिका अनभिज्ञ छ । उसले सो जिम्मेवारी स्थानीय तहको हो वा संघीय सरकारको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताउने गरेको छ ।

Khadga Memorial And Janajagriti

‘गाउँमा बिजुली पु¥याउने जिम्मेवारी हाम्रो हो वा संघीय सरकारको हो । हामी स्पष्ट छैनौं’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिँहले भने–‘त्यसै कारण वडा कार्यालयबाट विनियोजित बजेट खर्च हुन सकेको छैन ।’

केही वर्षअघि कैलाली र कञ्चनपुर जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत सेवा पु¥याउन डानिडा सरकारले काम ग¥यो । दुवै जिल्लाका धेरैजसो भुभागमा विद्युत सेवा पुगेको पनि छ । तर हाल घोडाघोडी नगरपालिका भित्र परेका साविकका केही गाविसमा भने उसले काम गरेन । सो क्षेत्रमा काम गर्न गएका संस्थाका प्रतिनिधिहरुलाई स्थानीय राजनीतिक कार्यकर्ताहरुले दुःख दिएपछि काम हुन नसकेको बताईन्छ । ‘गाउँमा विद्युत सेवा पु¥याउँछु भनेर आएका व्यक्तिलाई माओवादीले दुःख दिए’ एक स्थानीयले भने–‘त्यसपछि उनीहरु फर्केर आएनन् ।’

डानिडाले काम नगरेपछि अन्धकार रहेका केही गाविसमा विद्युत सेवा पु¥याउने भन्दै २०६७ सालमा केही युवाहरुको पहलमा घोडाघोडी सामुदायिक विद्युत सहकारी संस्था लि. गठन भयो । सो संस्थाले जनताको १० प्रतिशत र ऊर्जा मन्त्रालयको ९० प्रतिशत लगानीमा विद्युत सेवा विस्तार गर्ने कामको मध्यस्थता ग¥यो । उसले जनतासँग १० प्रतिशत रकम संकलन गर्न थाल्यो ।

साविक साढेपानी गाविसका बासिन्दाले दुई वर्षमै ३० लाख रुपैयाँ जम्मा गरे । २०६९ सालमा ठेक्का भयो र २०७२ मा ३२ सय घरधुरीमा बिजुली बल्यो ।

संस्थाका अध्यक्ष भीम बडुवालका अनुसार साविक दरख र रामशिखरझाला गाविसका बासिन्दाले भने ५ वर्षसम्म रकम जम्मा गर्न सकेनन् । सो अवधिमा उनीहरुले १० प्रतिशत अन्र्तगत १ करोड मात्रै जम्मा गर्न सके र थप ४० लाख रुपैयाँ अपुग भयो । विभिन्न संघसंस्थाहरुसँगको सरसहयोगमा २०७२ माघमा थप ४० लाख समेत जम्मा भएपछि २०७२ फागुनमा १४ करोड रुपैयाँको टेण्डर भएको अध्यक्ष बडुवाल बताउँछन ।

ठेकेदारले समयमा काम गर्न नसकेपछि विद्युत सेवा विस्तारको काममा ढिलाई भएको अध्यक्ष बडुवालको भनाई छ । उनले राजनीतिक संरक्षणमै ठेकेदारले काममा लापरवाही गर्ने गरेको आरोप लगाए । ‘३ वर्ष भयो । अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन’ उनले भने–‘ठेकेदारले समयमा काम गरेन । दोष जति हामीमाथि थोपरियो ।’

हालसम्म ४ हजार ८ सय पोल गाडिएका छन । १ हजा। ३ सय पोलमा तार तानिएको छ । ६०० केभी क्षमताका २७ वटा ट्रान्सफर्मर जडान भएका छन । कतिपय ठाउँमा अहिलेसम्म पोल समेत गाडिएका छैनन् । हालको वडा नं. ९ अर्थात् साविक रामशिखरझाला गाविसका केही भुभागमा अहिलेसम्म स्थानीयले विद्युत पोल समेत देख्न पाएका छैनन् । वडाध्यक्ष कृष्ण शाहले सहकारी संस्थामा तालाबन्दी गरेपछि केही ठाउँमा पोल फालेको बताए । उनले समयमा काम गर्न नसक्ने ठेकेदारसँगको सम्झौता खारेज हुनुपर्ने माग गरे । ‘न समयमा काम हुन्छ, न टेण्डर खारेज हुन्छ’ उनले भने–‘जनताले कहिलेसम्म बिजुलीको बाटो कुरेर बस्ने ?’

उनले वडाबासीले कहिले बिजुली आउँछ भनेर प्रश्न गर्दा नाजवाफ हुनुपर्ने अवस्था आएको दुःखेसो पोखे ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले समेत जनताले विद्युत सेवा उपभोग गर्न नपाएर निकै दवाव सिर्जना भैरहेको बताए । उनले पछिल्लो समयमा जनताले सबै समस्याको समाधान स्थानीय तहबाटै हुनुपर्ने अपेक्षा गरेका कारण नगरपालिका दवावमा परेको बताए । ‘जनताले अब अरुलाई चिन्दैन । हरेक समस्या सोझै हामी कहाँ ठोक्किन्छ’ उनले भने–‘सम्बन्धित पक्षले समयमा काम नगर्दा हामीलाई समस्या भैरहेको छ ।’

उनले नगरपालिका स्तरबाट हुने पहलका लागि आफू सदैव प्रयासरत रहेको बताउँदै सहकारी संस्थाले अझ बढी जिम्मेवार हुनुपर्ने बताए ।
स्थानीय बासिन्दा विद्युत सेवा उपभोग गर्न पाउने वर्षौदेखीको चाहना पूरा हुन नसकेपछि खिन्न छन । उनीहरुले राजनीतिक दलहरुको खिचातानीले आफूहरु अन्यायमा परेको महुशस भैरहेको बताए । दुर्गम भुभाग समेत विद्युत सेवाले झिलिमिलि भैरहेका बेला सुगम जिल्लाको मध्यवर्ती क्षेत्र अझै अन्धकार हुनु दुर्भाग्य भएको स्थानीय बासिन्दाको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update