Hamro Patra
स्वास्थ्य बिमामा बढेन सहभागिता
CMA Staff

अर्जुन शाह
धनगढी, माघ २७
सुदूरपश्चिममा स्वास्थ्य बिमामा आकर्षण बढ्न सकेको छैन । सुरु भएको ६ वर्ष अवधिमा बिमा गर्नेको संख्या आइतबारसम्म ४ लाख २ सय ६१ मात्र छ । ०७८ को जनगणना प्रारम्भिक नतिजा अनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख बढी छ ।
प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम ०७२ चैतदेखि कैलालीबाट सुरु भएको थियो । तीन वर्षअघि ०७५ सम्म ५ जिल्लामा विस्तार भएको स्वास्थ्य वीमा हाल प्रदेशका सबै ९ वटै जिल्लामा लागू छ । त्यसबेला बिमितको संख्या एक लाख १९ हजार पुगेको थियो । जनसंख्याको तुलनामा अपेक्षित बिमितको संख्यामा वृद्धि हुन नसकेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिमका संयोजक जनक साउदले स्विकारे ।
सरकारले राष्ट्रिय स्वास्थ्य बिमा ऐन ०७४ ल्याएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । सुरुमा कार्यक्रमको महत्त्व तथा उद्देश्य सर्वसाधारणलाई बुझाउनै कठिन भए पनि पछिल्लो समयमा सर्वसाधारणको आकर्षण सामान्य ढंगले बढ्दै गएको दर्ता सहायकहरू बताउँछन ।
‘स्वास्थ्य बिमा गरेकाहरूले राम्रै सुविधा पनि पाएका छन्,’ साउदले भने ‘स्वास्थ्य बिमा गरेका बिरामीहरूले उपचार पाउने स्वास्थ्य संस्थाहरूको संख्या न्यून तथा निश्चित भएकाले पनि केही समस्या भइरहेको देखिन्छ ।’
बोर्डको प्रदेश कार्यालयका अनुसार यस प्रदेशमा ३५ वटा स्वास्थ्य संस्थाबाट बिमितले उपचार सहयोग पाउँछन् । सेती र महाकाली गरी दुई वटा प्रादेशिक अस्पताल, पहाडी जिल्लामा रहेका ७ जिल्ला अस्पताल, १६ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा बिमितले बिमा सुविधा पाउँछन् ।
यस्तै, दार्चुलाको गोकुलेश्वर अस्पताल, डडेलधुराको जोगबुढा अस्पताल, कैलालीको मालाखेती, लम्कीचुहा र टीकापुर अस्पतालबाट बिमितले उपचार पाउने व्यवस्था रहेको बोर्डले जनाएको छ । कैलालीका ४ वटा निजी अस्पतालबाट मात्र उपचार सुविधा पाउने व्यवस्था बोर्डले मिलाएको छ । कैलालीमा सञ्चालित नवजीवन अस्पताल, घोडाघोडी अस्पताल, बर्दगोरिया अस्पताल प्रालि र लारत्न अस्पताल लम्कीचुहाबाट स्वास्थ्य बिमितले उपचार सहयोग पाउने गरेको साउदले बताए । ‘अधिकतम दुई लाखसम्मको स्वास्थ्य सुविधा हुने व्यवस्था छ,’ उनले भने ।
स्वास्थ्य बिमा गरेकाहरूले तोकिएका स्वास्थ्य संस्थामा उपचार गराउने क्रममा एक हजार १ सय १८ प्रकारका औषधी मध्येबाट निशुल्क पाउने प्रावधान रहेको छ । पछिल्लो समयमा सिटिस्क्यान, एमआरआई लगायतका सुविधाहरूसमेत बिमाभित्र पारिएको छ । तर, कतिपय सरकारी अस्पतालका फार्मेसीमा आवश्यक औषधि नभएको भनेर बिरामीलाई फर्काउने गरिनाले बिमाको महत्त्व घट्दै जाने बिमितहरू बताउँछन् । तर सुविधा पाएका कतिपय बिमितहरू भने स्वास्थ्य बिमा गरेकाले उपचारमा निकै मद्दत पुगेको अनुभव सुनाउँछन् ।
कैलालीस्थित घोडाघोडी नगरपालिका ५ घर भई हाल गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको कृष्णप्रसाद कँडेलले भने, ‘स्वास्थ्य बीमा गराएकाले औषधि किन्न लाग्ने मासिक डेढ हजार जति खर्च बिमाको रकमले व्यहोरिरहेको छ ।’ हालसम्म कुल बिमितमध्ये २ लाख १८ हजार ९२८ महिला र एक लाख ९४ हाजर ३२३ पुरुष छन् । स्वास्थ्य बिमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा छ । कैलालीमा बिमितको कुल २ लाख १५ हजार ८४६ छ । तीमध्ये एक लाख १३ हजार ५६ महिला र एक लाख २ हजार ६९० पुरुष छन् ।
सबैभन्दा कम संख्यामा स्वास्थ्य बिमा गर्ने जिल्लाका बासिन्दामा डोटीमा छन् । डोटीका ६ हजार ७ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । तीमध्ये २ हजार ४७१ पुरुष र ३ हजार ५३६ पुरुष छन् ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अति गरिबको शतप्रतिशत, गरिबको ७५ प्रतिशत र सीमान्तकृत गरिबको ५० प्रतिशतसम्म सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था छ । ५ जनासम्म परिवार संख्या भएकाले एक लाख बराबरको स्वास्थ्य बिमा सुविधा पाउँछन् । उपचारका क्रममा लागेको खर्च बीमाबापत प्राप्त हुने ५० हजारबाट घट्दै जान्छ  । त्यसका लागि परिवारका ५ जना सदस्य बराबर २ हजार ५ सय बिमा शुल्क तिर्नुपर्ने हुन्छ । त्यो संख्याभन्दा बढी भए प्रतिव्यक्ति ४२५ रुपैयाँ तिर्नुपर्ने नियम छ । विमा हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ ।
साभारः कान्तिपुर

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update