Hamro Patra
कैलालीमा फागुन १ गतेदेखि विद्यालय खोल्ने निर्णय

टीकापुर, माघ २६

कोरोनाको तेश्रो लहर आरालो लागेसँगै कैलालीमा फागुन १ गतेदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आज बसेको बैठकले विद्यालय खोल्ने निणर्य गरेपछि विद्यालयहरु सञ्चालन हुने भएका हुन् ।

केन्द्रले प्रमुख जिल्ला अध्यक्ष समक्ष विद्यालय खोल्न सिफारिस गरेको जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले हाम्रोपत्रलाई बताए ।

CMA Staff

‘फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु सञ्चालनका लागि केन्द्रले सिफारिस गरेको छ’ सूचना अधिकारी जोशीले भने ‘खोप नलगाएका बालबालिकाहरुको हकमा भने विद्यालयले वैकल्पिक उपाय अपनाएर कक्षा सञ्चालन गर्ने निणर्य भएको छ ।’

कैलालीमा कोरोना संक्रमण दर बढेपछि विद्यालय बन्द गर्ने निणर्य भएको थियो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले गरेका निणर्यहरु

१. यस जिल्लामा कोभिड विरुद्धको पूर्ण खोप अभियानको २०७८ पुष मसान्तसम्मको लक्ष्य ६६% रहेकोमा सतप्रतिशत लक्ष्य हासिल गर्न सहयोग गर्ने सम्वन्धित सवै निकाय र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरियो ।

२. कोभिड-१९ को जोखिम कायमै रहेको हुँदा घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समयसमयमा सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने/गराउने ।

३. विभिन्न प्रकारका गोष्ठी, सेमिनार, समिक्षा बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा तोकिए अनुसारको जन-स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा ५० जना (कोभिड विरुद्धको खोप लगाएका) मात्र सहभागि रहने गरी सञ्चालन गर्ने ।

४. सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार स्वास्थ्य मापदण्ड अवलम्वन गरी कूल क्षमताको ५०% नवढ्ने गरी विहान ५:०० बजेदेखि राती १०:०० बजेसम्म सञ्चालन गर्ने ।

५. विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी २०७८ साल फागुन १ देखि स्वास्थ्य मापदण्ड अवलम्वन गरी सञ्चालन गर्ने सकिने । १२ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीको हकमा सम्वन्धित विद्यालयले उपयुक्त वैकल्पिक विधि अपनाई कक्षा सञ्चालन गर्न सक्ने ।

६. कोभिड विरुद्धको खोप लगाउन छुटेका १२ वर्ष माथी १८ वर्ष मुनी उमेर समुहका विद्यार्थीहरुको हकमा अविलम्व खोप लगाउने व्यवस्था मिलाउन सम्वन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय र सम्वन्धित विद्यालयलाई अनुरोध गर्ने ।

७. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा सामुहिक रुपमा जम्मा भई पूजा आराधना गर्नु पर्ने भए जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी सञ्चालन गर्न सकिने ।

८. सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एकपटकमा २५ जना भन्दा बढी हुन नहुने गरी जनस्वास्थ्य मापदण्ड पालना गर्ने/गराउने गरी सञ्चालन गर्ने ।

९. रङ्गशालामा दर्शक सहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कूल क्षमताको ५०% संख्या मात्र उपस्थित हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने/ गराउने गरी सञ्चालन गर्ने ।

१०. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने (पार्टी प्यालेसमा भए एक पटकमा कूल क्षमताको ५०% वा बढीमा १०० जना मात्र उपस्थित रहने) गरी जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने ।

११. सीमा नाकामा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट संक्रमित देखिएकाहरुलाई तत्काल संस्थागत आइसोलेसन, होल्डिङ्ग सेन्टर आदिमा राख्ने ब्यवस्था मिलाउने सम्वन्धित स्थानिय तहलाई आवश्यक समन्वय र सहजिकरण गर्न अनुरोध गर्ने ।

१२. होटेल तथा रेष्टुरेण्टले कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोवाइलमा फोटो भएपनि हुने) र तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी, गराई संचालन गर्ने ।

१३. अत्यावश्यक काममा भारतीय सीमा नजिकका बजारहरुमा आवत जावत गर्दा कोभिड-१९ विरुद्धको खोप कार्ड साथमा राखि (मोवाइलमा फोटो भएपनि हुने) अनिवार्य रुपले सुरक्षामा खटिएका कर्मचारीलाई देखाउनु पर्ने ।

१४. औषधि लगायत अत्यावश्यक आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही गर्ने ।

१५. १२ वर्ष माथी उमेर समूहका सवै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने विषयको सचेतनात्मक सन्देश प्रचार प्रशारका लागि सञ्चार माध्यमलाई अनुरोध गर्ने ।

१६. खोप कार्ड हराएका व्यक्तिहरुलाई खोप कार्डको प्रतिलिपि सहज ढंगबाट उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने ।

१७. सदा झैं कोभिड विरुद्धको अभियान आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न आम नागरिकलाई अनुरोध गर्ने ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update