टीकापुर, माघ २६
टीकापुर नगरपालिकाले झण्डै १२ हजार विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाएको छ । स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार हालसम्म ११ हजार ८४६ जनालाई खोप लगाईएको छ । उनले खोप लगाउने काम जारी रहेको बताए ।
नगरपालिका अन्र्तगतको स्वास्थ्य शाखाले निजी र सामुदायिक गरी ४५ वटा विद्यालय मार्फत १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाएको हो । विद्यार्थीलाई पहिलो चरण अन्र्तगत मोडेर्ना नामक खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए । उनका अनुसार अहिले खोप लगाईएका सबै विद्यार्थीलाई २८ दिन पछि दोस्रो चरणको खोप लगाईने छ ।
स्वास्थ्य शाखाले विद्यार्थीलाई लक्षित गरेर खोप अभियान सुरु गरेको थियो । जस अन्र्तगत विभिन्न विद्यालयमा अध्ययनरत लक्षित उमेर समूहका ५ हजार ९३१ छात्रा र ५ हजार ८६५ छात्रले खोप लगाएका छन । अभियान अन्र्तगत छुटेका थप ५० जनाले टीकापुरस्थित सिटी हलमा रहेको केन्द्रबाट खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए ।
उनले अझै पनि खोप लगाउन छुटेका लक्षित समूह अन्र्तगतका विद्यार्थीहरुले सोही केन्द्रबाट लाभ लिन सक्ने बताए । ‘कोही छुटेका भए अहिले पनि खोप लगाउने व्यवस्था छ’ उनले भने–‘अहिले पनि केही विद्यार्थी सम्पर्कमा आईराखेका छन ।’
स्वास्थ्य शाखाले कोरोना विरुद्धको खोप लगाएको छ महिना पुगेका अन्य उमेर समूहका व्यक्तिहरुलाई भोलिदेखी बुष्टर डोज लगाउन अभियान थालेको छ । उसले यो अभियान फागुन २ गतेसम्म जारी रहने उल्लेख गरेको छ ।
यो अभियान टीकापुरस्थित सिटी हलमार्फत माघ २७ र २८ गते सञ्चालन हुनेछ । त्यस्तै अभियान विजयनगर स्वास्थ्य केन्द्रबाट फागुन १ र २ गतेका साथै अन्य रामपुर, अस्नेहरी, मनिकापुर, नारायणपुर, सत्ती, धनसिँहपुर र झुँगा स्वास्थ्य केन्द्रबाट फागुन २ गते सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए ।