Hamro Patra
माटो अभावमा सडक निर्माणको काम प्रभावित

टीकापुर, माघ १८

माटो अभावका कारण लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम प्रभावित बनेको छ । सडकको होचो भागमा माटो पटानी गर्नुपर्ने भएकाले आवश्यकता अनुसारको माटो पाउन नसकेका कारण समस्या भएको निर्माण पक्षले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको लम्कीदेखी दक्षिण सीमा क्षेत्र खक्रौलासम्मको २९ किलोमिटरमा ‘फोर लेन’ सडक निर्माणको काम भैरहेको छ । २०७७ असार महिनामा निर्माण सम्झौता भएको सडक निर्माणको काम आगामी एक वर्ष भित्र सम्पन्न गर्नुपर्नेछ ।

Khadga Memorial And Janajagriti

सडक निर्माणको काम तीन वटा निर्माण कम्पनीले जिम्मा पाएका छन । लम्कीदेखी तोरैयापुरसम्मको ८ किलोमिटर कालिका/कुमार जेभी, तोरैयापुरदेखी अस्नेहरीसम्मको ८ किलोमिटर एपेक्स/खड्का/कृष्ण जेभी र अस्नेहरीदेखी खक्रौलासम्मको साढे ११ किलोमिटर जगदम्बा/रायमाझी/गाल्वा जेभीले निर्माणको जिम्मा पाएका छन ।

लम्कीदेखी तोरैयापुरसम्मको सडकखण्डमा माटोको खाशै समस्या नभएपनि तोरैयापुरदेखी अस्नेहरी र अस्नेहरीदेखी खक्रौलासम्मको सडकखण्डमा माटो अभावका कारण काम निकै प्रभावित बनेको छ । तोरैयापुरदेखी अस्नेहरीसम्मको निर्माणको जिम्मा पाएको एपेक्स/खड्का/कृष्ण जेभीका आधिकारिक प्रतिनिधि ओमकान्त बेलबासेले माटो अभावकै कारण सडक निर्माणको काम रोकिएको जानकारी दिए । उनले नाली, कल्भर्ट, ह्युमपाइप, वाल लगायतका काम भने सम्पन्न भैसकेको बताए । ‘अरु धेरै काम सम्पन्न भैसकेको छ’ उनले भने–‘सडकको होचो भाग भने पुर्न नसकेर समस्या भैरहेको छ ।’

उनले माटोको खोजीमा एक वर्ष बितेको गुनासो गरे । उनका अनुसार निजी जग्गावालाले समेत माटो बेच्न नमाने पछि सडक निर्माणको काम रोक्नु परेको छ । निर्माण पक्षले माटो अभावका कारण सडक निर्माणको काम प्रभावित बनेको बारे स्थानीय निकायलाई जानकारी समेत दिएका छन । आधिकारिक प्रतिनिधि बेलबासेले जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई यस बारेमा जानकारी दिएको बताए । ‘हामीले जानकारी दिएका छौं’ उनले भने–‘जनप्रतिनिधिहरुले सुनुवाई गर्ने चासो दिनुभएन ।’

अस्नेहरीदेखी खक्रौलासम्मको सडकखण्ड निर्माणको काम भने मेनका निर्माण सेवाले गरिरहेको छ । उसले अस्नेहरीदेखी नारायणपुरसम्म झण्डै ४ किलोमिटरमा माटो पटानी गरिसकेको छ । प्रतिनिधि चन्द्र लम्सालले नारायणपुरदेखी खक्रौलासम्मको सडकखण्डमा माटो अभावका कारण काम रोकिएको बताए । ‘हामीले पनि अरु निर्माणका काम सम्पन्न गरिसकेका छौं’ उनले भने–‘माटोकै कारण थप काम अघि बढाउन सकिएको छैन ।’

निर्माण पक्षले जग्गा किनेर भएपनि माटोको व्यवस्थापन गर्न खोजेको छ । आधिकारिक प्रतिनिधि बेलबासेका अनुसार कतिपय ठाउँमा जग्गा भेटिएको छैन भने भेटिएको ठाउँमा बाटो नभएर ढुवानीमा समस्या देखिएको छ । उनले सबैतिरबाट असहयोग महशुस भैरहेको दुखेसो पोखे । ‘सडक निर्माणको काम समयमै किन नभएको मात्रै भन्नुहुन्छ तर कसैले सहयोग गर्ने तर्फ पहल गर्नुहुन्न’ उनले भने–‘माटोको व्यवस्थापनका पहल गरिदिन आग्रह गर्छु ।’

सडक विभागले ठेक्का सम्झौतामा उल्लेख भएको माटो मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । उसले बलौटे माटो प्रयोग नगर्न भनेको छ । यस क्षेत्रका अधिकांश भूभागमा बलौटे माटो मात्रै पाईन्छ । निर्माण पक्षका अनुसार ठेक्का सम्झौतामा उल्लेख भएको माटो भेटाउन निकै कठिन छ ।

लम्कीदेखी तोरैयापुरसम्मको सडकखण्डमा भने माटोको खाशै समस्या नभएको निर्माण कम्पनीका प्रतिनिधि हरिनाथ योगीले जानकारी दिए । उनले रानी जमरा कुलरीया सिँचाई आयोजनाको नहरबाट माटोको व्यवस्थापन गरेका कारण समस्या नभएको बताए । उनले अन्य कुनै समस्या नभए करिव एक महिना भित्रै सडक कालोपत्रेको काम सुरु गर्ने गरी तयारी भैरहेको बताए । ‘हामीले लगभग धेरै काम सम्पन्न गरिसकेका छौं’ उनले भने–‘फागुन÷चैतबाट कालोपत्रेको काम सुरु हुन्छ ।’

विगत लामो समयदेखी धुले सडकका रुपमा रहेको लम्की–टीकापुर–खक्रौला सडक खण्ड कैलाली जिल्लाको पूर्वी क्षेत्रका बासिन्दाले निर्माणको काम गर्दै आएका छन । ६ वर्षअघि हुलाकी सडक आयोजनाले कालोपत्रे गरेपनि निर्माण सम्पन्न भएको २ वर्षमै भत्किएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update