Hamro Patra
खड्ग स्मृति सम्मान २०७८ द्वारा व्यवशायी गिरी सम्मानित

टीकापुर, पुस १२
टीकापुर उद्योग वाणिज्य संघले २२ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा व्यवशायी हेमराज गिरीलाई आज खड्ग स्मृति सम्मान २०७८ द्वारा सम्मानित गरेको छ । संघले टीकापुरमा विगत लामो समयदेखी ब्यापार व्यवशाय गर्दै आएका गिरीलाई सफल व्यवशायीका रुपमा सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले दोसल्ला ओढाएर व्यवशायी गिरीलाई सम्मान गरेका छन । सम्मानित व्यवशायी गिरीले संघको संस्थापक महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यका रुपमा समेत काम गरिसकेका छन । उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध छन ।

संघले हरेक वर्ष वार्षिकोत्सव समारोहमा कुनै एकजना व्यवशायीलाई खड्ग स्मृति सम्मानद्वारा सम्मानित गर्ने गरेको छ । यो सम्मान टीकापुरका संस्थापक स्व. खड्गबहादुर सिँहको सम्झनामा स्थापना गरिएको हो ।

CMA Staff

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेयर रावलले विकासका कामहरु क्रमिक रुपमा अघि बढ्ने बताए । उनले जनताको आकांक्षा अहिले नै विकास होस् भन्ने भएपनि ती सबै क्रमिक रुपमा अघि बढ्ने र बढ्दै गएको बताए ।

उनले टीकापुरस्थित विमानस्थल पुनः सञ्चालनमा आफूले सक्दो पहल गरेको बताउँदै पूर्वाग्रहका कारण बजेट बिनियोजन हुने नसकेको आरोप लगाए । ‘हामीले बारम्बार पहल गरेकै छौं’ उनले भने–‘कतै एमालेको मेयर भनेर बजेट नछुट्याएको त हैन ।’

त्यस्तै सोही कार्यक्रमका विशिष्ट अतिथि जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले विकास निर्माणका कामका टीकापुर र जानकीबीच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले त्यस्तो समन्वय र सहकार्य भने हुन नसकेको बताए ।

‘मैले त्यस्तो हुन नसकेको महशुस गरिरहेको छुँ’ उनले भने–‘हाम्रो भौगोलिक अवस्थाले पनि समन्वय र सहकार्यको आवश्यकता खोजेको छ ।’
कार्यक्रमकै अर्का विशिष्ट अतिथि टीकापुर नगरपालिकाका उपमेयर केशरी बिष्टले विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रह नराखेर अघि बढ्नुपर्नेमा जोड दिईन । उनले सबैको साझा प्रयासले मात्रै विकासका काम अघि बढ्ने बताईन ।

सो अवसरमा नेपाली काँग्रेसका नगर सभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष धु्रव खत्री, जसपाका जिल्ला सदस्य बिरेन्द्र साउँद, संघका पूर्वअध्यक्ष नवराज रावल, पूर्वमहासचिव शिवदत्त उप्रेती, पूर्वकोषाध्यक्ष तर्क बुढा लगायतले बोलेका थिए । संघका उपाध्यक्ष चक्रपाणी सापकोटाले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष परशुराम चपाँईले धन्यवाद व्यक्त गरेका थिए भने सञ्चालन महासचिव तपेन्द्र स्वाँरले गरेका थिए ।

संघको बन्द सत्र भने गणपुरक संख्या नपुगेकोले दोस्रो पटकका लागि विधानतः चार दिन भित्र अर्थात पुस १६ गते आह्वान गरिएको छ । संघमा आवद्ध ३४१ जना सदस्य संख्या भएपनि ७२ जना मात्रै साधारण सभामा उपस्थित रहेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update