Hamro Patra

टीकापुर, पौष ४

कैलालीको सुदूरपूर्वी क्षेत्रमा फेरि एक युवकको विभत्स हत्या भएको छ । अघिल्लो महिना चक्कु प्रहारबाट ज्यान गुमाएका लम्कीका भूपेन्द्र बडुवालको हत्याकाण्ड सेलाउन नपाउँदै फेरि २५ वर्षीय युवकको विभत्स हत्या भएको हो ।

कार्तिक २३ गते लम्कीका युवक बडुवालको टीकापुरमा खुकुरी प्रहारबाट हत्या भएको घटना सुल्झिन नपाउँदै जानकी गाउँपालिका वडा नं. ९ अमरावतीका २५ वर्षीय अरुण दासको हत्या भएको हो ।
दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिवार साँझ शव फेला परेको हो ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार सामुदायिक वनमा घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

‘परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी शुक्रवार साँझ साथीसँग जान्छु भनेर निस्केका थिए’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘विभत्स अवस्थामा उनी मृत फेला परेका हुन् ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनासँग सम्बन्धित अडियो रेकर्ड फेला पारेको जनाएको छ । ‘घटना स्थलबाट एउटा अडियो फेला परेको छ, यसका बारेमा समेत अनुसन्धान भइरहेको छ, अहिलेसम्म कुनै व्यक्ति पक्राउ परेका छैनन्’ जोशीले भने ‘अहिले शव उठाउने तयारी भइरहेको छ ।’

घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली घटनास्थलमा छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा रुखमा हात बाँधेर टाउको अलग पारिएको र नग्न अवस्थामा दासको शव फेला परेको थियो ।

एकपछि अर्को विभत्स हत्याका घटना हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । टीकापुरका भुपेन्द्र खड्काले भने ‘सुरक्षाको प्रत्याभूति नै भएन, को कहाँ कसरी मारिने हो भन्ने डर छ ।’

दुई महिना अघि एक युवकको चक्कु प्रहारबाट टीकापुर नगरपालिका वडा नं.८ का एक युवकको समेत ज्यान गएको थियो । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update