टीकापुर, मंसिर १५
हिमालयन बैंक लिमिटेडले कैलालीको टीकापुरमा आफ्नो कारोबार सुरु गरेको छ । बैंकले आफ्नो ७३ औं शाखा टीकापुरमा सञ्चालनमा ल्याएको छ ।
कैलालीमा मात्रै बैंकको यो चौथो शाखा हो । बैंकले यसअघि कैलालीकै धनगढी, अत्तरीया र लम्कीमा शाखा सञ्चालन गरेर कारोबार गर्दै आएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा बैंकका सात शाखा भएका छन ।
आम नागरिकलाई अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले बैंकले विभिन्न ठाउँमा शाखा विस्तार गर्ने क्रममा टीकापुरमा समेत कारोबार सुरु गरेको प्रबन्धक देव अग्रवालले जानकारी दिएका छन ।
बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले एक विज्ञप्ती जारी गर्दै हिमालयन बैंक निक्षेप तथा कर्जामा अन्य बैंकको तुलनामा अग्रणी रहेको दावी गरेका छन । उनले बैंकले शाखा मार्फत एटिएम सेवा र टेलिबैकिङका साथै प्रिमियम सेभिङ खाता, एचबिएल प्रोपाईटरी कार्ड, बनौं लखपति योजना सञ्चालन गरिने बताए ।
उनले बैंकले देशभरका विभिन्न ७३ शाखा, ५ विस्तारित काउण्टर र १४६ वटा एटिएम स्टेशन मार्फत सेवा दिईरहेको जानकारी दिए ।
हिमालयन बैंकको उपस्थितिले टीकापुरमा आर्थिक कारोबारमा वृद्धि हुने टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनले बैंक तथा वित्तिय संस्थाहरुको संख्या बढ्नु टीकापुरका लागि सकारात्मक सन्देश भएको बताए ।
टीकापुरमा पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाको उपस्थिति बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैंकको ‘क’ वर्गका दर्जन बढी बैंकहरुले आफ्ना शाखा मार्फत कारोबार गर्दै आएका छन ।