टीकापुर, मंसिर ४
टीकापुर नगरपालिका साक्षर घोषणा भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाले शनिवार एक समारोहको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरेको हो । समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले नगरपालिकालाई साक्षर घोषणा गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्राविधिक शिक्षामा सुदूरपश्चिम सरकारले जोड दिएको बताए । सुदूरपश्चिममा विद्यालय, क्याम्पसको संख्या बढ्दै गए पनि तिनको व्यवस्थापनमा समस्या रहेको बताउँदै मन्त्री खड्काले उचित व्यवस्थापनका लागि कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
नगरपालिकाको कुल जनसंख्याको ९८ प्रतिशत साक्षर भएपछि साक्षर घोषणा गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले जानकारी दिए । उनका अनुसार नगरपालिका भित्र अझै २ हजार ९० जना निरक्षर छन । उनले ती व्यक्तिहरुलाई समेत साक्षर बनाउनका लागि चाँडै कार्यक्रम ल्याइने जानकारी दिएका छन ।
नगर प्रमुख तपेन्द्रबहादुर रावलको सभापतित्वमा भएको साक्षर नगर घोषणा समारोहमा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।