टीकापुर, कार्तिक २४
एक समूहको चक्कु प्रहारबाट कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भुपेन्द्र बडुवालको ज्यान गएको छ । मंगलवार राति ९ बजे टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई चक्कु प्रहार हुँदा ज्यान गएको छ ।
तीन चार जनाको समूहले लखेट्दै बडुवालमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ ।
प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए ।
घटनाको नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा दुई समूहबिच झडप भएको हुनसक्ने खुलेको सापकोटाले बताए ।
मृतक बडुवालका आफन्त एवं संविधानसभा सदस्य भगत बडुवालले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । उनले भने ‘घटनामा संलग्नहरुको पहिचान खुलिसकेको छ, तत्काल पक्राउ गरेर कारवाही गर्न जोडदार माग गर्दछु ।’
सम्साँझै चक्कु प्रहारबाट युवकको ज्यान गएपछि टीकापुरको शान्ति, सुरक्षामाथि प्रश्न उठेको छ । दुई साताअघि टीकापुर नगरपालिका वडा नं. ८ मा समेत एक युवकको चक्कु प्रहारबाट ज्यान गएको थियो ।