टीकापुर, कार्तिक १३
टीकापुर नगर पालिकाका नगर प्रमुख तपेन्द्र रावलले नगर क्षेत्रको आर्थिक विकासको मेरुदण्डका रुपमा सहकारीहरु विकसित हुँदै गएको बताएका छन् ।
टीकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नगर प्रमुख रावलले सो कुरा बताएका हुन् ।
उनले नगरपालिकाले विपन्न नागरिकलाई सहकारीमार्फत् सेवा दिने तयारी भइरहेको बताउँदै नागरिकलाई आर्थिक गतिविधिमा संलग्न गराउन सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
नगरपालिकाले हाम्रो सहकारीः राम्रो सहकारी नीति लिएको बताउँदै नगर क्षेत्रभित्रका उत्कृष्ठ पाँच वटा सहकारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि एवं वडा नं. १ का अध्यक्ष गंगाराम आचार्यले सहकारीले शेयर धनीको लगानी सुरक्षित गर्दै गएको बताउँदै आफ्नै भवनबाट सेवा शुरु हुने कुराले आफू खुशी भएको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष भीमबहादुर रावल, सल्लाहकार नरबहादुर रावल, लेखा समितिका पूर्व संयोजक चेतमान खत्री, लेखा समिति संयोजक वीरेन्द्र रावल लगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ठ वचतकर्ता वडा नं. ५ का तुलसीराम डगौंरा तथा कर्जा कारोवारतर्फ उत्कृष्ठ कारोबार गर्ने वडा नं. ३ का बाबुराम थारुलाई सम्मान गरिएको थियो ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ५९ लाख १७ हजार ५ शय ९७ बचत तथा २ करोड ६५ लाख ५५ हजार ७ शय १ रुपैयाँ ऋण लगानी गरेको छ । ६७ लाख ५८ हजार शेयर पुँजी रहेको सहकारीमा ४ शय ५६ जना शेयर सदस्य रहेको व्यवस्थापक दीपकबहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले २५ लाख ७१ हजार ८ शय १२ रुपैयाँ खुद नाफा कमाएको छ । यस वर्ष सहकारीले ६ प्रतिशत लाभान्स बाँडफाँड गर्ने निर्णय पारित गरेको छ ।
बन्द सत्रले संस्थाका अध्यक्ष महेशप्रसाद कुश्मीद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा संस्थाका व्यवस्थापक थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७८/०७९ को अनुमानित बजेट समेत पारित गरेको छ ।
यस्तै बन्द सत्रले टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँ पालिकालाई कार्यक्षेत्र कायम गर्ने गरी संस्थाको विनियम २०६५ मा संशोधन गरेको छ ।
सहकारीका अध्यक्ष महेशप्रसाद कुश्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव धु्रवबहादुर रावलले गरेका थिए ।