टीकापुर, कार्तिक ८
कैलालीको टीकापुर अस्पतालमा अत्याधुनिक ल्याब भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
टीकापुर सरोकार समूह, टीकापुर उद्योग वाणिज्य संघ र टीकापुर अस्पतालद्धारा गत वर्ष सञ्चालित अक्सिजन सहयोग अभियानबाट बचत भएको रकमले उक्त ल्याब भवन निर्माण हुनेछ ।
एक कार्यक्रमका बिच टीकापुर सरोकार समूहका संस्थापक एवं अक्सिजन अभियानका परिकल्पनाकार हिक्मत थापाले ल्याब भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै थापाले अक्सिजन सहयोग अभियानबाट बचत भएको रकम टीकापुर अस्पतालको सेवा सुविधा विस्तारका लागि अत्यावश्यक ल्याब भवन निर्माणमा खर्च गर्ने निणर्य अनुसार ल्याब भवनको शिलान्यास गरिएको बताए ।
ल्याब भवन निर्माणका लागि झण्डै ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अस्पतालमा हाल साँघुरो कोठामा ल्याब सञ्चालन गर्न निकै गाहे भइरहेको अवस्थामा उक्त रकमबाट ल्याब निर्माण गर्न लागिएको छ ।
ल्याब भवन निर्माणका लागि अभियानबाट संकलित रकम पर्याप्त नभए पनि थप सहयोग जुटाएर ६ महिनाभित्र निर्माण सम्पन्न गरिने टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
ल्याब निर्माणका लागि अध्यक्ष दीपक रावल, टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर सरोकार समूहका नवराज भट्टराई सम्मेलित एक समिति गठन गरिएको छ ।
उक्त समितिले ल्याब भवन निर्माणको काम शुरु गर्नेछ । अक्सिजन अभियानमा सहयोग गर्ने सहयोगदाताहरुको नाम ल्याब भवनको शिलालेखमा लेखिने टीकापुर सरोकार समूहका कोषाध्यक्ष परमानन्द पाण्डेले जानकारी दिएका छन् ।
दोश्रो लहरको कोरोनाका कारण अस्पतालका विरामीहरुले अक्सिजन नपाउने अवस्था आएपछि टीकापुर सरोकार समूहको अगुवाईमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिएको थियो ।