Hamro Patra
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा  कैलाली प्रहरी सम्मानित

टीकापुर, भदौ ३०

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ ।

१५ औं मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीले उल्लेखनीय कार्य गरेको भन्दै सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको हो ।

CMA Staff

पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा (वास्कोटा)ले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई उक्त सम्मान प्रदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक वर्षमा मानब बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो ।

त्यसैगरी यस अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो ।

सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघ संस्थासँगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १ शय २६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारमा फर्काएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरुको उद्दार तथा पारिवारिक पुर्नमिलन गराएको थियो ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नुका साथै शान्ति पुनःसर््थापना गृह, माइती नेपाल लगायत संघ संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्दार, राहत, निःशुल्क कानुनी परामर्श, जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले मन्त्रालयबाट प्राप्त सम्मानले थप हौसला र उर्जा प्राप्त भएको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update