Hamro Patra
कैलालीमा डल्फिनको संख्या बढ्यो

टीकापुर, भदौ २२
कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ ।

संस्थाका अनुसार यसवर्ष १५ वटा बच्चा सहित ७० डल्फिन गणना गरिएको छ । संस्थाका अध्यक्ष भोजराज ढुंगानाले १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गरेको बताए । संस्थाले भदौ १८ र १९ गते गणना गरेको थियो ।

Khadga Memorial And Janajagriti

उनका अनुसार सबैभन्दा धेरै डल्फिन मोहना–पथरैया दोभान, काँडा–पथरैया दोभान, पथरैया–गैरीनाला दोभानमा देखिएका छन । ‘एकै पटक १५ वटासम्म डल्फिन देखिएका छन’ उनले भने–‘विगतको तुलनामा संख्या बढेको छ ।’

उनले यसअघि २०७३ र २०७५ मा समेत डल्फिनको आधिकारिक गणना भएको बताए । उनले २०७३ मा ६५ रहेको डल्फिनको संख्या २०७५ मा ५५ मात्रै गणना भएको जानकारी दिए । उनले २०७४, २०७६ र २०७७ मा समेत स्थानीयले डल्फिन गणना गरेको भएपनि त्यसलाई आधिकारिक नमानेको बताए ।

‘हामीले गणना त हरेक वर्ष गर्छौ तर आधिकारिक रुपमा यो वर्ष सहित तीन वर्ष मात्रै भएको छ’ उनले भने–‘स्थानीयले गणना गरेको वर्षहरुमा पनि डल्फिनको संख्या यतिधेरै थिएन ।’

उनले डल्फिन गणनामा डा. मुकेश चालिसे अध्यक्ष रहेको नेपाल जैविक विविधता समाजले प्राविधिक सहयोग गरेको बताए । उनले डल्फिन गणनाको आधिकारिक तथ्याङ्क भने समाजले नै सार्वजनिक गर्ने जानकारी दिए ।

मान्छे पछिको चेतनशील प्राणीका रुपमा मानिएको डल्फिन वर्षायाममा बच्चा हुर्काउन कैलालीको दक्षिणी क्षेत्रमा आउने गर्छ । यो वर्ष डल्फिन पहिलो पटक असार १ गते मोहना र पथरैया नदीको दोभान नजिकै देखिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update