Hamro Patra
धमाधम विद्यालय सञ्चालन

टीकापुर, भदौ २२
लामो समयदेखी बन्द रहेका विद्यालय सञ्चालनको तयारीमा जुटेका छन । टीकापुर नगर शिक्षा समितिले आइतवार (भदौ २० गते) सरकारले तोकेको मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

समितिको निर्णय पश्चात सामुदायिक र संस्थागत दुवै खाले विद्यालयले कक्षा सञ्चालनको तयारी थालेका छन । केही संस्थागत विद्यालयले सोमवार (भदौ २१ गते) देखी नै कक्षा सञ्चालन गरिसकेका छन ।

प्याब्सन टीकापुरका अध्यक्ष जयकृष्ण तिमिल्सिनाले विद्यालयले धमाधम कक्षा सञ्चालन सुरु गरिसकेको बताए । उनले विद्यार्थीको संख्या कम भएपनि विद्यालयले कक्षा सुरु गरेको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

‘सबै विद्यार्थी आईसकेका छैनन्’ उनले भने–‘तर धेरैजसो विद्यालय सञ्चालन भैसकेका छन ।’

उनले विद्यालय सञ्चालनका बारेमा सबै विद्यार्थीले जानकारी नपाएका कारण पनि संख्या कम भएको हुनसक्ने बताए ।

सामुदायिक विद्यालयहरुले भने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुको संयुक्त बैठक बसेर विद्यालय सञ्चालनको तयारी थालेका छन । उनीहरुले विद्यालय सञ्चालनको संयुक्त निर्णय गरेर नगर शिक्षा समितिमा बुझाउने बताए ।

नेपाल शिक्षक महासंघ टीकापुरका अध्यक्ष रघुनाथ उपाध्यायले अधिकांश विद्यालयले यस्तो निर्णय गरिसकेको जानकारी दिए । उनले धेरैजसो विद्यालयले कक्षा समेत सञ्चालन गरिसकेको बताए ।

‘धेरैजसो विद्यालयले कक्षा सञ्चालन गरिसकेका छन’ उनले भने–‘विद्यालय खुलेकोमा विद्यार्थी समेत उत्साहित छन ।’

सरकारले विद्यालयले एक कक्षा कोठामा बढीमा ३० जना विद्यार्थी राख्नुपर्ने, मास्क, सेनिटाईजर र साबुन पानीको अनिवार्य व्यवस्था गर्नुपर्ने लगायतका मापदण्ड तोकेको छ । विद्यालयले सरकारले तोकेका सबै मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्ने कुरामा सहमति जनाएका छन । ‘हामी सबै मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्छौं’ अध्यक्ष उपाध्यायले भने–‘विद्यार्थीको स्वास्थ्य प्रति विद्यालय प्रशासन संवेदनशील छ ।’

तर विद्यालय सञ्चालन भएपनि विद्यार्थीहरुमा भने कोरोनाको त्रास देख्न सकिन्छ । उनीहरु विद्यालय जान डराईरहेका छन । टीकापुर नगरपालिका–४ बाघमारास्थित जनप्रकाश आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनु चौधरीले खोप नलगाएका कारण डर लागिरहेको बताईन ।

उनले विद्यालय खुलेकोमा खुशी भएपनि कतै कोरोना लाग्ने हो कि भन्ने डर भने मनमा भैरहेको बताईन । ‘धेरै पछि विद्यालय आउन पाईयो, यसमा खुशी नै छु’ उनले भनिन्–‘खोप लगाएको छैन । कतै कोरोना सर्ने पो हो कि ?’

कोरोनाका कारण विद्यालय लामो समयदेखी बन्द रहे । अघिल्लो शैक्षिक वर्षमा विद्यार्थीले परीक्षा नदिएरै विद्यालयले परीक्षाफल सार्वजनिक गर्नु परेको थियो । विद्यार्थीहरुले शैक्षिक वर्षको अन्त्यमा विद्यालय बन्द रहेका कारण परीक्षा दिन पाएनन् । चालु शैक्षिक वर्षमा समेत हालसम्म विद्यालय खुल्न सकेका थिएनन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले यही १७ गते एक आदेश जारी गरेको थियो । जसमा शैक्षिक संस्थाहरुले सकेसम्म भौतिक उपस्थिति नभई भर्चुअल माध्यमबाट पठनपाठन गराउने र यदि भौतिक रुपमै पठनपाठन गराउने भए सरकारले साउनमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको प्रावधान भित्र रहेर विद्यालय सञ्चालन गर्ने उल्लेख छ ।

स्थानीय पालिकाहरुले जिल्ला प्रशासन कार्यालय कैलालीको सोही आदेशलाई आधार मानेर धमाधम विद्यालय सञ्चालनको निर्णय थालेका छन ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update