Hamro Patra
पाहुना चराको प्रजनन स्थल घोडाघोडी

योगेश रावल
टीकापुर, बैशाख १४
पाँच वर्षअघिसम्म नादून हाँस घोडाघोडी ताल क्षेत्रका लागि पाहुना चरा थियो । यो पछिल्लो समय रैथाने बन्ने प्रयासमा छ । यसले सन् २०१४ देखी नियमित प्रजनन थालेको छ । सन् २०१९ जनवरीको गणना अनुसार यसको संख्या ६९ पुगेको छ ।

दक्षिण भारतबाट नेपाल भित्रिएको नादून हाँस घोडाघोडीका साथै चितवनको बिसहजारी र लुम्बिनीको जगदीशपुर ताल क्षेत्रमा समेत पाईन्छ । तर यसले प्रजनन कार्य भने घोडाघोडीमा मात्रै गर्न थालेको चराविद दयाराम चौधरीले बताए ।

उनका अनुसार यो चरा सन् २०१४ अघि घोडाघोडी ताल क्षेत्रमा कहिले काँही मात्रै देखिन्थ्यो । त्यसपछिका दिनमा भने नियमित देखिन थालेको छ । यसको बासस्थान पानी जमेको ताल हो । यसले ताल नजिकैको घाँसमा अण्डा पार्छ । एक पटकमा १२÷१३ वटासम्म अण्डा पार्ने गरेको नादून हाँसले ७÷८ वटा बच्चा कोरल्ने गरेको चराविद चौधरीले बताए । ‘अण्डा पारेको जति सबै बच्चा कोरल्न सकेको पाईदैन’ उनले भने ।

Khadga Memorial And Janajagriti

पछिल्लो समय घोडाघोडी ताल क्षेत्र महत्वपूर्ण चराहरुको प्रजनन स्थल बन्दै गएको छ । ती मध्ये कतिपयले घोडाघोडीमा मात्रै प्रजनन गर्ने गरेको पाईएको छ । उनीहरु देशका अन्य भूभागमा देखिए पनि प्रजननका लागि भने घोडाघोडी ताल क्षेत्रमै फर्किने गरेका छन । ती मध्ये हरि हाँस र बगाले सिम कुखुरा पनि हुन ।

चराविद चौधरीका अनुसार हरि हाँसले सन् २००९ र बगाले सिम कुखुराले सन् २०१३ बाट नियमित प्रजनन थालेका छन । घोडाघोडीमा हरि हाँसको संख्या ३९२ र बगाले सिम कुखुराको संख्या १५० रहेको छ ।

घोडाघोडी ताल क्षेत्रमा सन् २००७ बाट जलपन्छीको गणना कार्य सुरु भएको हो । यहाँ ५६ प्रजातिका १ हजार ३०३ जलपन्छी रहेका छन । यो देशका अन्य क्षेत्रका तुलनामा सबैभन्दा बढी हो । ‘घोडाघोडीका जति जलपन्छी अन्यत्र छैन’ चराविद चौधरीले भने–‘अन्यत्र पनि छन तर यतिधेरै छैन ।’

घोडाघोडी ताल क्षेत्रमा विश्वमै लोपोन्मुख चराहरु समेत छन । ती मध्ये राज लाहाँचे, राज धनेस, गिद्द, सुइरो ठुडे, काँडे भ्याकुर लगायत प्रमुख हुन । काँडे भ्याकुर नेपालमा मात्रै पाईने चौधरीले बताए । लोपोन्मुख अवस्थामा रहेका चरा संरक्षणमा निकै चुनौती रहेको चराविद चौधरीले बताए ।

घोडाघोडी ताल क्षेत्रमा चरा प्रजातिको संख्या पनि वर्षेनी बढ्दो क्रममा छ । सन् २०१२ मा २२६ प्रजातिका चरा रहेको घोडाघोडीमा सन् २०१८ मा २९९ प्रजातिका चरा भेटिएका छन । ती मध्ये १९ प्रजातिका पाहुना चरा भएको चराविद चौधरीले बताए । घोडाघोडीमा हरेक वर्ष हिउँद र वर्षा गरी दुई पटक चरा गणना गरिन्छ ।

पाहुना चराहरु वर्षमा एक पटक घोडाघोडी ताल क्षेत्रमा पुग्छन । कोही जाडो त कोही गर्मीयाममा आउँछन । ती मध्ये साइबेरियन चरा जाडो छल्न घोडाघोडी आउने गरेको पाईएको छ । यो चरा ३÷४ महिनासम्म घोडाघोडी ताल क्षेत्रमा देखिन्छ । चराविद चौधरीका अनुसार घोडाघोडी पछि साइबेरियन चरा मानसरोबर हुँदै पुनः साइबेरीया फर्किन्छ ।

चराविद चौधरीले नेपाल पर्यटन बोर्डमा घोडाघोडी ताल क्षेत्रलाई बर्ड सेन्चुरी बनाउन प्रस्ताव गरेका छन । उनले चरा संरक्षणमा राज्यको समेत दायित्व हुनुपर्छ भन्ने उद्देश्यले यस्तो प्रस्ताव गरेको जनाए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update