Hamro Patra
बाढीको डरले अनिदो बस्छन स्थानीय

टीकापुर, भदौ १३
टीकापुर नगरपालिकाको दक्षिणी भेगका जनता साता दिनदेखी राम्ररी सुत्न पाएका छैनन् । उनीहरु कुनैपनि बेला कर्णाली नदी गाउँ पस्ने त्रासले राम्ररी सुत्न नपाएका हुन ।

टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तिब्र पारेको छ । सो ठाउँबाट कर्णाली नदी गाँउ पस्ने सम्भावना रहेको छ । नदीले शाहीपुरमा रहेको तटबन्ध भत्काए दक्षिणी भेगका दर्जन बढी गाउँका बासिन्दा प्रभावित हुने देखिन्छ ।

टीकापुर नगरपालिका–८ वनगाउँका बडघर रामप्रसाद चौधरीले कुनैपनि बेला बाढी आउने डरले रातभर निदाउन नसकेको बताए । उनले रातिको समयमा गाउँमा त्रास फैलिने गरेको सुनाए । ‘हामी कोही राम्ररी सुतेका छैनौं’ उनले भने–‘कोही गाउँलेलाई सूचना दिन सुत्दैनौं त कोही बाढीको त्रासले सुत्दैनन् ।’

Khadga Memorial And Janajagriti

यस ठाउँमा २०४० सालमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यतिबेला कर्णाली नदीले ठूलो धनजनको क्षती पुर्याएको थियो । सर्वसाधारणको कैयौं विगाह खेतीयोग्य जमिन कटान गरेको थियो । अहिले पनि कर्णाली नदी सर्वसाधारणको खेतीयोग्य जमिनमा बग्ने गरेको छ ।

२०४० सालको बाढीको प्रकोप भोगेकाले सर्वसाधारण कर्णाली नदी कटानसँग निकै डराउने गरेका छन । उनीहरुले त्यसपछिका वर्षहरुमा समेत थुप्रै ठूलासाना बाढीका प्रकोप भोगेका छन । केही वर्षअघि मात्रै पनि टीकापुर नगरपालिका–७ स्थित सत्तीबजार चुर्लुम्म डुबेको थियो । सो वर्ष समेत कर्णाली नदी दौलतपुर नजिकैको तटबन्ध भत्काएर गाउँ पसेको थियो ।

स्थानीय बिदूर कायस्थले यो वर्ष समेत त्यस्तै अवस्था आउने डरले रातभर अनिदो बस्ने गरेको बताए । ‘कतिबेला घर छोडेर भाग्नुपर्ने हो भनेर रातभर सुत्नै सक्दैनौं’ उनले भने–‘राम्रोसँग नसुतेको कत्ति दिन भैसक्यो ।’

सत्तीका ब्यापारीहरुले पसलको सामान सुरक्षित स्थानमा सारेका छन । ब्यापारीहरुले मात्रै नभई अन्य स्थानीयले समेत आवश्यक सरसामान अन्यत्र सारेका छन । उनीहरुले अग्लो स्थानमा रहेका आफन्तको घरमा सामान सारेका छन ।

स्थानीय जीतु कटेजका सञ्चालक जीतबहादुर चौधरीले त्रासमै रात बित्ने गरेको बताए । उनको कटेज कर्णाली नदीको छेउमै छ । उनको कटेजको छेउ हुँदै कर्णाली नदीको भँगालो (नाला) बग्छ । शाहीपुरमा नदीले कटान गरे सोही नाला हुँदै बाढी पस्ने डर रहेको छ । ‘शाहीपुरमा तटबन्ध भत्कियो भने जोगिने कुनै उपाय छैन’ उनले भने–‘त्रातभर बाढीकै त्रासमा बित्छ ।’

कर्णाली नदीले शाहीपुरमा तटबन्ध भत्काउन थालेपछि टीकापुर नगरपालिका अन्र्तगत वडा नं. ५, ६, ७, ८ र ९ का दर्जन बढी गाउँका बासिन्दा बाढीको उच्च जोखिममा छन ।

शाहीपुरमा भैरहेको कटान रोक्नका लागि रानी जमरा कुलरीया सिँचाई आयोजना र स्थानीयले पहल गरिरहेका छन । आयोजनाले नदी कटान रोक्नका लागि कटान भैरहेको ठाउँमा ठूल्ठूला ढुंगा राख्दै आएको छ भने स्थानीयले बालुवा भरिएका प्लाष्टिकका बोरा र झारपातको जैविक तटबन्ध निर्माण गरिरहेका छन ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update