Hamro Patra
कर्णाली नदी गाउँ पस्ने खतरा बढ्यो, सचेत रहन वडा कार्यालयको अपिल

टीकापुर, भदौ ११
टीकापुर नगरपालिका ७ नं. वडा कार्यालयले आज एक सार्वजनिक सूचना जारी गरी वडाबासीलाई सजग रहन अपिल गरेको छ । कर्णाली नदी कटानले वडा नं. ५ शाहीपुरस्थित तटबन्ध भत्किने क्रम तिब्र बनेकाले बाढी आउन सक्ने भन्दै वडा कार्यालयले वडाबासीलाई सचेत गराएको हो ।

वडाध्यक्ष रामलाल डगौरा थारुद्वारा जारी सार्वजनिक सूचनामा कुनैपनि बेला गाउँमा बाढी पस्न सक्ने सम्भावना रहेको उल्लेख छ । सो सूचनामा वडा नं. ५,६,७ र ८ का पूर्वी क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा रहेको बताईएको छ ।

सो क्षेत्रमा कर्णाली नदीले कटान तिब्र पारेको छ । वडा नं. ५ का वडाध्यक्ष रामशंकर डगौराले नदीले पूरानो तटबन्ध सबै बगाएको बताए । उनले रानी जमरा कुलरीया सिँचाई आयोजनाले निर्माण गरेको नयाँ तटबन्ध समेत भत्किन थालेको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

‘पूरानो तटबन्ध त सबै बर्गाइसकेको छ’ उनले भने–‘पछाडी रहेको नयाँ तटबन्ध समेत भत्किन थालेको छ ।’

आयोजनाले नदी कटान रोक्नका लागि कटान भैरहेको ठाउँमा ठूल्ठूला ढुंगा राख्दै आएको छ । विगत केही दिनदेखी कटान भएको ठाउँमा राखेका सबै ढुंगा नदीले बगाएको सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले जानकारी दिए । उनले नदी कटान तिब्र बन्दै गएपछि जोखिम बढ्दै गएको बताए । ‘पछाडी अर्को तटबन्ध त छ’ उनले भने–‘तर जोखिम भने बढेको छ ।’

नदीले तिब्र कटान जारी राखेपछि स्थानीय रोकथामका लागि प्रयास गरिरहेका छन । उनीहरु बालुवा भरेका बोरा र झारपात राखेर नदी कटान रोक्ने प्रयास गरिरहेका छन । ‘हामी प्रयास त गरिराखेका छौं’ बडघर चन्द्रबहादुर रोकामगरले भने–‘हाम्रो प्रयासले नदी कटान रोक्ने अवस्था देखिदैन ।’ उनले कुनैपनि बेला नदी गाउँ पस्ने खतरा बढ्दै गएको बताए ।

नदी गाउँ पस्ने जोखिम बढेपछि स्थानीयमा त्रास फैलिएको छ । तटीय क्षेत्रका बासिन्दा बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानतर्फ सार्न थालेका छन । बडघर रोकामगरले बालबालिका र वृद्धवृद्धालाई टीकापुर नगरपालिका–१ स्थित बाढी पीडित शिविरतर्फ पठाईएको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update