Hamro Patra
खोलामा डुबेर वृद्धाको मृत्यु, करिव डेढ सय घर डुबानमा

टीकापुर, भदौ ११
कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको मृत्यु भएको हो ।

उनलाई स्थानीय चरेला खोलाले बगाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार खोलामा नुहाउने क्रममा थरुनी बगेर बेपत्ता भएकी थिईन । उनको शव झण्डै सात सय मिटर तल भेटिएको छ ।

त्यस्तै कैलालीकै जानकी गाउँपालिकामा बाढीले करिव डेढ सय घर डुबाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार वडा नं. ४ र ७ को बस्तीमा बाढी पसेको हो ।

CMA Staff

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन । पालिकाका अन्य वडामा समेत थप केही घर डुबानमा परेका छन ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली उद्दारका लागि पुगेको छ । उद्दार टोलीसँगै गाउँपालिका अध्यक्ष प्रदिप चौधरी समेत डुंगा चढेर प्रभावित क्षेत्रमा पुगेका छन । उनले टेलिफोन सम्पर्कमा स्थानीयका धेरै घर डुबे पनि सबैजना सुरक्षित स्थानमा सरेको बताए ।

‘म सबैतिर पुगेको छु । सबैजना सुरक्षित हुनुहुन्छ’ उनले भने–‘खाद्यान्न लगायत भने बगाएको छ ।’

कर्णाली नदी अन्र्तगतको कुलरीया कुला (नदी) मा आएको बाढी गाउँ पसेको हो । यहाँ वर्षेनी कुलरीया कुलाले बाढीको समस्या निम्त्याउने गरेको छ ।

उता कर्णाली नदीले टीकापुर नगरपालिका–५ शाहीपुरमा निरन्तर कटान जारी राखेको छ । नदीमा पानीको बहाव घटबढ भएसँगै किनार छेउको भूभाग तिब्र कटान भैरहेको छ ।

रानी जमरा कुलरीया सिँचाई आयोजना र स्थानीयले नदी कटान नियन्त्रणका लागि प्रयास गरिरहेका छन । नदीमा पानीको बहाव उच्च भएसँगै कटान नियन्त्रणको प्रयास विफल हुँदै गएको स्थानीय केशर रावलले बताए ।

आयोजनाले ठूल्ठूला ढुंगा र स्थानीयले बोरामा बालुवा भरेर नदी कटान नियन्त्रणको प्रयास गरिरहेका छन । नदीको बहावले ढुंगा र बालुवा भरेका बोरा बगाउन थालेपछि स्थानीय चिन्तित भैरहेका छन ।

जिल्ला प्रशासन कार्यालय कैलालीले नदी कटान तिब्र भएसँगै तटीय क्षेत्रका बासिन्दालाई सजग रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update