Hamro Patra
नदी कटान नियन्त्रणमा समस्या

टीकापुर, भदौ १०
टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ । स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ ।

आयोजनाले नदी कटान भैरहेको ठाउँमा ठूल्ठूला ढुंगा राखेर रोकथामको प्रयास गरिरहेको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले रोकथामको काममा दुईवटा निर्माण कम्पनी संलग्न रहेको जानकारी दिए । उनले सो काम गजुरमुखी सिद्धी साई र प्राकृतिक सनिदेवले गरिरहेको बताए ।

Khadga Memorial And Janajagriti

आयोजनाले निर्माण कम्पनी मार्फत नदी कटान रोकथामको काम गरिरहेको भएपनि समयमा ढुंगा ढुवानी हुन नसक्दा र नदीमा राखेको ढुंगा बाढीले बगाउँदा समस्या भैरहेको छ । ‘बाटो लगायतका कारण छिटोछिटो ढुंगा ढुवानी हुन सकिरहेको छैन । जसका कारण रोकथामको काम प्रभावकारी हुन सकेको छैन’ सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले भने–‘हामी प्रयासरत छौं । तर ढुक्क हुने अवस्था भने छैन ।’

उनले स्थानीय पालिकाहरुले ढुंगा संकलन कार्यलाई असहज बनाएपछि आयोजनाले थालेको नदी नियन्त्रणको काम प्रभावित बनेको गुनासो गरे । उनले यस्तो विपदका बेला समेत केही पालिकाले ढुंगा संकलन र ढुवानीमा समस्या खडा गरेको बताए ।

‘यस्तो विपदको बेला सबैले सहयोग गर्नुपर्छ’ उनले भने–‘उल्टै सहयोग गर्नुको साँटो असहयोग गर्ने काम भैरहेको छ ।’

स्थानीयले डेढ साता अघि सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा नदी कटान रोकथामका लागि निर्माण गरेको जैविक तटबन्ध नदीले बगाईदिएको छ । नदी जैविक तटबन्ध निर्माण गरेको ठाउँ भन्दा धेरै वर पुगेको बडघर चन्द्रबहादुर रोकामगरले जानकारी दिए ।

‘हामीले बनाएको तटबन्धको त कुनै संकेत पनि छैन’ उनले भने–‘अहिले ठूल्ठूला ढुंगा राखेपछि केही हदसम्म रोकथाम भएको छ ।’

उनले ढुंगाले पनि नदी कटान रोक्न नसके परिणाम अकल्पनीय हुने बताए । सो ठाउँबाट नदी गाउँ पसे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ का सत्ती, वडा नं. ८ का सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका ठाउँ जोखिममा पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update