Hamro Patra
कर्णाली नदी गाउँ पस्ने खतरा, सयौं परिवार जोखिममा

टीकापुर, भदौ ९

कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ । नदीले टीकापुर नगरपालिका–५ शाहीपुर नजिक कटानी तिब्र पारेको छ । स्थानीयका अनुसार आज मात्रै नदीले करिव पाँच मिटर कटान गरेको छ । नदीमा पानीको सतह क्रमिक रुपमा बढ्दै गैरहेको छ । हिजो रातिदेखी कैलालीको पूर्वी भेग र पहाडी जिल्लाका केही ठाउँमा वर्षा भैरहेको छ । निरन्तर वर्षा भैरहेकाले नदीमा पानीको सतह अझ बढ्न सक्ने सम्भावना देखिएको स्थानीय बताउँछन ।

नदीमा पानीको सतह बढ्दै जाने हो भने कटानी तिब्र हुने र कुनैपनि बेला नदी गाउँ पस्ने खतरा रहेको स्थानीय चन्द्रबहादुर रोकामगरले बताए । ‘यो ठाउँमा विगत एक महिनादेखि नदी कटान भैरहेको छ’ उनले भने–‘ठूलठूला ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहे पनि सम्भव भएको छैन ।’

Khadga Memorial And Janajagriti

सो ठाउँबाट नदी गाउँ पसे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ का सत्ती, वडा नं. ८ का सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका ठाउँ जोखिममा पर्ने सम्भावना रहेको स्थानीयले जानकारी दिए ।
नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको रोक्कामगरले बताए । ‘बालबालिकालाई टीकापुरमा रहेका शिविरमा पठाएका छौं’ उनले भने–‘हामी नदी कटान नियन्त्रणको प्रयासमा छौं ।’

टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदी किनारका बासिन्दा जोखिममा रहेको बताए । उनले नदी कटान नियन्त्रणको प्रयास भए पनि पानीको सतह बढिरहेकाले गाह्रो भैरहेको बताए । ‘रोक्ने प्रयास त भैरहेको छ तर जोखिम उत्तिकै छ’ उनले भने–‘बाढीको खतरा बढेसँगै गाउँमा सबैलाई सचेत रहन सूचना दिइरहेका छौं ।’

सत्ती प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक चंखबहादुर कठायतले नदी गाउँ पस्ने खतरा बढेपछि प्रभावित गाउँहरुमा सूचना प्रवाह गर्ने काम भैरहेको बताए ।

शाहीपुरमा नदीले वर्षेनी कटान गर्दै आएको छ । नदीले शाहीपुर वन क्षेत्रमा गत वर्ष निर्माण गरिएको १ शय ५० मिटर बढी तटबन्ध समेत भत्काएको छ । केही दिन अघि नेपाली सेना, प्रहरी र स्थानीयले रोकथामका लागि जैविक तटबन्ध निर्माण गरेका थिए ।

चिसापानीदेखी दक्षिणी भेगमा नदीको बीचमा थुप्रै टापुहरु रहेका छन् । वर्षेनी ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ ।

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिचाईं आयोजना शुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्र भित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको छ । नदीमा आउने बाढीले वर्षेनी तटबन्ध समेत बगाउने गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update