Hamro Patra
वर्षातको पानीले टीकापुर बजार जलमग्न

टीकापुर, भदौ ९

अविरल वर्षाका कारण कैलालीको टीकापुर बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण बजारको मुख्य चोक मानिने बलभद्र चोकका अधिकांश पसलहरुमा पानी पसेको छ ।

Khadga Memorial And Janajagriti

स्मार्ट सिटी कार्यक्रम अन्तर्गत ब्लक नं. १ मा निर्माण भइरहेको नमूना ब्लकको काम समयमा सम्पन्न नहुँदा बलभद्र चोक डुबानमा परेको व्यवसायीहरु बताएका छन् । चोक र पसल भन्दा माथि सडकको नाली निर्माण गरिएका कारण सामान्य पानीले समेत बजार क्षेत्र जलमग्न हुने अवस्था आएको जी.पी. टेड सेन्टरका सञ्चालक गोपाल परियारले बताए ।

‘पहिले देखि नै पानीको निकास थिएन, त्यसैमा यस वर्ष पसल भन्दा अग्लो सडक र नाली बनाइएको छ’ उनले भने ‘जसका कारण नालीको पानी समेत पसलहरुमा पसेर क्षति पुर्याएको छ ।’

बलभद्र चोकका नमूना इन्टरप्राइजेज, वैद्य सपिंग सेन्टर, भावेश फेन्सी लगायतका पसलहरुमा पानी पसेर क्षति पुर्याएको छ । वर्षेनी डुबानको समस्या हुँदै आए पनि स्थानीय सरकार मौन भएका कारण यस वर्ष पसलहरुमा पानी पसेर क्षति पुर्याएको नमूना इन्टरप्राइजेजका सञ्चालक सरोज चपाईले बताए । ‘पानी निकासको समस्या छ भन्ने थाहा हुँदाहुँदै पनि स्थानीय सरकार अरु बेला मौन बस्छ’ उनले आक्रोश पोखे ‘कम्तीमा हिउँदको समयमा यसको समाधानका लागि पहल गर्न आवश्यक छ ।’

ब्लक नं. ए को निर्माण ठेक्का पाएको महालक्ष्मी एम.के.जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि आधा काम सम्पन्न गर्न सकेको छैन् । निर्माण कम्पनीले गरेको ढिलाईका कारण समेत बजार क्षेत्र जलमग्न भएको हो । कम्पनीका निर्देशक चक्रबहादुर शाही भने आयोजनाको डिजाइन परिवर्तन हुँदा र कोरोना कहरका कारण समय लागेको बताउँछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update