Hamro Patra
कैलालीबाट आधा किलो सुन सहित तीन पक्राउ

टीकापुर, साउन २७

जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीमा झण्डै आधा किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो ।

CMA Staff

अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ । ‘अत्तरियास्थित सडक खण्डमा काठमाडाँैबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.८ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कन्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको थियो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘बसमै सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो । उनको साथबाट नगहद ६ हजार ९ सय बरामद गरिएको छ ।’

उनीहरुसंग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको हो । सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ । भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको बिबरण फरक रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update