Hamro Patra
टीकापुर औलोको उच्च जोखिममा

टीकापुर, बैशाख १२
साविक टीकापुर नगरपालिका र धनसिँहपुर गाविसका केही वडा औलोको उच्च जोखिममा छन । विश्व औलो दिवसको अवसरमा आज टीकापुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको छ ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक कमल रावलले प्रस्तुत गरेको तथ्याङ्क अनुसार साविक टीकापुर नगरपालिकाका वडा नं. १,४,७,८ र ९ का साथै साविक धनसिँहपुर गाविसका वडा नं. ३, ६ र ७ औलोको उच्च जोखिममा छन ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ को पुष महिनासम्ममा ३ हजार ४४५ जनाको रगत जाँच गरिएको छ । जसमध्ये २९ जनामा औलो देखिएको सहसंयोजक रावलले जानकारी दिए । त्यसमध्ये १ जनामा पिएफ आयातित औलो देखिएको छ । ‘आयातित औलो एकजनामा पनि देखिनु ठूलो चुनौती हो’ रावलले भने ।

कैलालीमा आयातित औलोका बिरामी धेरै भेटिएका छन । गत आर्थिक वर्ष २०७४÷०७५ मा १३२ जना आयातित र ७६ जना स्थानीय औलोका बिरामी भेटिएका थिए । टीकापुरमा मात्रै गत आर्थिक वर्षमा २१ जनामा आयातित औलो देखिएको थियो ।

औलो सम्बन्धी कैलाली जिल्लास्तरको तथ्याङ्कमा टीकापुर नगरपालिकाका बिरामीको संख्या बढी नै देखिन्छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाभरका २०८ औलोका बिरामी मध्ये टीकापुरका मात्रै ३३ जना थिए ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी उच्च जोखिममा छन । भारतसँग खुला सिमा नाका जोडिएका कारण पनि टीकापुर औलोको उच्च जोखिममा छ । यहाँका धेरैजसो मानिस रोजगारीका लागि भारत जाने गरेका छन ।

सहसंयोजक रावलले भारतबाट फर्किने व्यक्तिहरुलाई लक्षित गरेर सिमा नाका खक्रौलामा हेल्थ डेस्क राख्ने तयारी भैरहेको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update