Hamro Patra
कर्णाली कहरः वर्षेनी तटबन्धः वर्षेनी कटान

टीकापुर, साउन २७

राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले आफ्नो कमाण्ड क्षेत्रभित्रका कर्णाली, मोहना र पथरैया नदीको कटान नियन्त्रणका लागि वर्षेनी करोडौं रकम खर्च गरिरहेको छ । अन्य नदीहरुमा कटान नियन्त्रण भइरहेको भए पनि कर्णालीमा भने वर्षेनी कटानको कहर यथावत नै छ ।

आयोजना क्षेत्रभित्रको जमिन नदी कटानबाट सुरक्षित बनाउन आयोजनाले ती नदीहरुमा झण्डै १६ किलोमिटर बढी तटबन्ध गरिसकेको छ । तथापि कर्णाली नदीका विभिन्न स्थानमा भने वर्षेनी कटानको कहर ज्यूँका त्युँ छ ।पछिल्ला वर्षहरुमा कर्णाली नदीको सनकट्टी, भुराखानी, दौलतपुर, शाहीपुर, वनगाउँ र श्रीलंका क्षेत्रमा निर्माण भएका तटबन्ध समेत कटानमा परेपछि यतिबेला टीकापुर क्षेत्र कर्णाली नदीको उच्च जोखिममा परेको हो ।

Khadga Memorial And Janajagriti

कर्णाली नदीले वर्षेनी टीकापुर नगरपालिका वडा नं. २ को सनकट्टी र भुराखानी वडा नं. ५ को दौलतपुर र शाहीपुर, वडा नं. ८ वनगाउँ तथा श्रीलंकामा कटान गर्दै आएको छ । आयोजनाको शुरुवात देखि नै ती क्षेत्रहरुमा तटबन्धको काम भइरहेको भए पनि कटान भने नियन्त्रण हुन सकेको छैन । आयोजनाले वर्षेनी गर्ने तटबन्धमा नदीकै ढुंगा निकालेर तारजालीमा भरेर निर्माण हुन्छ ।

टीकापुर नगरपालिका वडा नं. ५ का अध्यक्ष रामशंकर चौधरी तारजाली गरेर गरिएको तटबन्धले कर्णालीको धारलाई रोक्न नसक्ने बताउँछन् । ‘नदीका बिचमा टापुहरु छन्, नदी साँघुरिँदै गएको छ, निकै बहाव रहेको कर्णालीमा यो ताराजाली प्रविधिले काम गरेको देखिएन’ उनले भने ‘यसको विकल्प खोजेर नदीलाई चौडा बनाएर मात्रै तटबन्ध गरेर जमिन बच्छ, नत्र जतिबेला पनि कर्णाली गाउँ पस्न सक्छ ।’

यस वर्ष मात्रै कर्णाली नदीले सनकट्टी क्षेत्रमा दुई शय मिटर, भुराखानीमा ढेड शय मिटर, दौलतपुरमा पचास मिटर, शाहीपुरमा झण्डै दुई शय मिटर र सत्तीको वनगाउँमा पाँच शय मिटर बढी क्षेत्रमा कटान गरेको छ । गत वर्ष भुराखानी क्षेत्रबाट गाउँ पस्न थालेको नदी जैविक तटबन्धमार्फत नियन्त्रण भए पनि यस वर्ष शाहीपुरबाट गाउँ पस्न थालेको छ । सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र किसानहरुले जैविक तटबन्ध निर्माण गरिरहेका छन् ।

वर्षायाम लागेसँगै कर्णाली नदीले कटान गर्न थालेपछि नदी गाउँ पस्ने खतरा बढेको छ । टीकापुर नगरपालिका वडा नं. ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध समेत कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो । नदीमा पानीको सतह बढ्दै जाँदा कटान समेत बढ्दै गइरहेको छ । कर्णाली नदीको शाहीपुर वन क्षेत्रमा नदीले गत वर्ष निर्माण गरिएको १ शय ५० मिटर बढी तटबन्ध र लञ्चर बगाई सकेको छ ।

दैनिक रुपमा कटान हुन थालेपछि टीकापुर नगरपालिका वडा नं. ५, ६, ७ र ८ का स्थानीयहरु त्रसित बनेका छन् । नदीले सो क्षेत्रमा कटान गर्दा शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा छ । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले गत वर्ष निर्माण गरिएको तटबन्ध र लञ्चर बगाएपछि नदीले कटान तिब्र पारेको बताए । ‘गत वर्ष कटान गरेको क्षेत्रबाट केही तलदेखि कटान शुरु भएको हो’ नगर प्रमुख रावलले भने ‘गत वर्ष निर्माण गरेको झण्डै डेढ शय मिटर तटबन्ध र लञ्चर समेत बगाएर १ मिटर जति मात्रै बाँकी रहेको छ ।’ रावलले नदी नियन्त्रणका लागि सुरक्षाकर्मी, किसान र नगरपालिकाले पहल गरिरहेको बताए ।

वर्षेनी कटान हुने समस्या भए पनि यसको दीर्घकालीन रोकथामका लागि तटबन्ध प्रविधि नै फेर्नु पर्ने अवस्था आएको नगर प्रमुख रावलले बताए । नदीले कैलालीतर्फ धार फेरेको र नदी साँघुरिएका कारण वर्षेनी कटानको समस्या हुने गरेको बताउँदै उनले भने ‘नदीमै जोडिएर तटबन्ध गर्नु भन्दा पनि नदीको क्षेत्र छोडेर आरसीसी मोडलबाट गरे मात्रै नियन्त्रण हुने देखिन्छ ।’

रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर अनुभव चौधरीले कर्णाली नदीले वर्षेनी कटान गर्दै आएको बताउँदै केही महंगो भए पनि आयोजनाले आरसीसी प्रविधिबाट तटबन्ध गर्ने र नदीमा ठूला ठूला बोल्डर खसाल्ने गरी कार्यक्रम संशोधन गर्न लागिएको बताए । ‘हाम्रो अध्ययन भन्दा फरक किसिमले नदीले धार परिवर्तन गरेर कटान गरिरहेको छ’ इञ्जिनियर चौधरीले भने ‘यर्स वर्षदेखि हामीले कटान भइरहेको क्षेत्रमा ठुला बोल्डर (ठूला ढुंगा) खसालेर नदीको धार रोक्ने कोशिस गरेका छौं, दौलतपुरमा कटान समेत रोकिएको छ ।’ उनले तारजाली प्रविधिबाट तटबन्ध गर्दा नदीको बाहवले तारजाली नै बगाउन थालेपछि आरसीसी प्रविधिबाट तटबन्धका लागि कार्यक्रम संशोधनको तयारी भइरहेको बताए ।

कर्णाली नदीले वर्षेनी गर्ने कटानको मुख्य कारण हो, नदीको बिचमा रहेका आइल्याण्डहरु । कर्णाली नदीको चिसापानीबाट दक्षिणी क्षेत्रमा नदीको बीचमा थुप्रै आइल्याण्डहरु रहेका छन् । वर्षेनी ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ । स्थानीयहरुले ती आइल्याण्डहरु सफा नगरेसम्म नदीको कटान नियन्त्रण नहुने बताउँदै आएका छन् ।

आयोजनाका इञ्जिनियर चौधरीले आइल्याण्ड हटाउनका लागि संघीय सरकारले नै नीति बनाउनु पर्ने बताए । ‘आइल्याण्ड हटाएर नदीको धार सिधा गर्दा कटान रोकिन सक्छ’ उनले भने ‘त्यसका लागि संघीय सरकारले नीति बनाउनु पर्छ, त्यो वन क्षेत्रमा पर्ने हुनाले आयोजना र स्थानीय स्तरबाट केही गर्न सकिँदैन ।’ राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजना शुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको भए पनि वर्षेनी कटानको समस्या भने कम हुन सकेको छैन ।

जोखिममा सत्ती घाट पुलः पिल्लर भासियो

कर्णाली नदीले धार परिवर्तन गर्दा सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने सत्ती घाटस्थित पुल जोखिममा परेको छ । एक महिनाअघि लुम्बिनी प्रदेशको राजापुर जोड्ने पुलको किनार भाँसिएको थियो । किनार भाँसिएको महिना दिन नपुग्दै पुलको अन्तिम पिल्लर समेत भाँसिन थालेको छ ।

स्थानीयका अनुसार पुलको पिल्लर भासिँदै गए पछि दुई स्पान जोडिएको भागमा चिरा पर्न थालेका छन् । टीकापुर नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले पुलको पिल्लर भासिएको हुनाले स्पानको बिचमा चिरा परेको हुन सक्ने बताए ।

‘पुलको राजापुर क्षेत्रको किनार नै भासिँएको थियो, अब पिल्लर समेत भाँसिन थालेको छ’ इञ्जिनियर रावलले भने ‘जसका कारण पिल्लरको दुई भाग जोड्ने स्पानमै चिरा परेको देखिन्छ ।’
हुलाकी राजमार्ग अन्तर्गत पर्ने उक्त पुलको समयमै मर्मत नभए सुदूरपश्चिम र लुम्बिनी प्रदेशबिच यातायात सम्बन्ध टुट्ने छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update