टीकापुर, साउन २७
दार्चुलाको महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनाको छानविन गर्न गठित समिति आज धनगढी पुगेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो । समितिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूणर् जोशीसँग छलफल गरेको छ ।
दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गरेको थियो । दश दिनभित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको छानबिन समितिलाई प्रतिवेदन बुझाउन थप सात दिनको समय थपिएको छ ।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन् ।
छानबिन समितिले जिल्लामा रहँदा नेपाल-भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।