Hamro Patra
कर्णाली गाँउ पस्ने खतराः शाहीपुरको तटबन्ध भत्कियो

टीकापुर, २४ साउन

वर्षायाम लागेसँगै कर्णाली नदीले कटान गर्न थालेपछि नदी गाउँ पस्ने खतरा बढेको छ । टीकापुर नगरपालिका वडा नं. ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध समेत कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो ।

नदीमा पानीको सतह बढ्दै जाँदा कटान समेत बढ्दै गइरहेको छ । कर्णाली नदीको शाहीपुर वन क्षेत्रमा नदीले गत वर्ष निर्माण गरिएको १ शय ५० मिटर बढी तटबन्ध भत्काएको छ ।

Khadga Memorial And Janajagriti

दैनिक रुपमा कटान हुन थालेपछि टीकापुर नगरपालिका वडा नं. ५, ६, ७ र ८ का स्थानीयहरु त्रसित बनेका छन् । नदीले सो क्षेत्रमा कटान गर्दा शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा छ ।

केही दिन अघिदेखि नै नदीले कटान गर्न थालेपछि यतिबेला स्थानीय किसान, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले जैविक तटबन्ध निर्माण गरेर रोकथामको प्रयास गरिरहेका छन् । राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाई आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध र लञ्चर बगाइसकेको छ ।

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले गत वर्ष निर्माण गरिएको तटबन्ध र लञ्चर बगाएपछि नदीले कटान तिब्र पारेको बताए । ‘गत वर्ष कटान गरेको क्षेत्रबाट केही तलदेखि कटान शुरु भएको हो’ नगर प्रमुख रावलले भने ‘गत वर्ष निर्माण गरेको झण्डै डेढ शय मिटर तटबन्ध र लञ्चर समेत बगाएर १ मिटर जति मात्रै बाँकी रहेको छ ।’ रावलले नदी नियन्त्रणका लागि सुरक्षाकर्मी, किसान र नगरपालिकाले पहल गरिरहेको बताए ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद अर्यालले नदीले कैलालीतर्फ धार फेरेको र नदी साँघुरिएका कारण वर्षेनी कटानको समस्या हुने गरेको बताए ।

उनले भने ‘नदी आफ्नो धारमा बग्ने गरेको छ, उता बर्दियाले तटबन्ध गरेपछि यता कैलालीतिर धार बढेको छ, जसले गर्दा नदी साँघुरो भएर वर्षेनी कटान भइरहेको छ ।’ उनले नदी नियन्त्रणका लागि जालीको तटबन्धको बदलामा नयाँ प्रविधिले निर्माण गर्नुपर्ने बताए ।

रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर अनुभव चौधरीले कर्णाली नदीले कटान गर्न थालेपछि किसान, सुरक्षाकर्मी र आयोजनाको सहकार्यमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर जैविक तटबन्ध निर्माण भइरहेको बताए ।

‘बाँस, डोरी, झारपातहरु राखेर जैविक तटबन्धले नियन्त्रण गर्ने प्रयास भइरहेको छ’ इञ्जिनियर चौधरीले भने ‘यस वर्ष आयोजनाले कटान नियन्त्रणका लागि ठूला बोल्डरहरु खसालेर प्रयास गरिरहेको भए पनि बोल्डरको अभावमा फेरि कटान भएपछि जैविक तटबन्ध गरेर प्रयास गरिरहेका छौं ।’

कर्णाली नदीको चिसापानीबाट दक्षिणी क्षेत्रमा नदीको बीचमा थुप्रै टापुहरु रहेका छन् । वर्षेनी ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ ।

राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजना शुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको भए पनि वर्षेनी कटानको समस्या भने कम हुन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update