Hamro Patra
कर्णाली नदीमा बेपत्ता दम्पत्तीको अवस्था अझै अज्ञात

टीकापुर, साउन १६
कर्णाली नदीमा जीप खसेर हिजो बेपत्ता भएका एक दम्पत्तीको अवस्था अझै अज्ञात छ । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरु चढेको बा ११ च ९३८ नम्बरको जीप नदी भित्र क्षतविक्षत अवस्थामा भेटिएको छ । जीपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरिक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनले नदीको उच्च बहाव र धमिलो पानीका कारण खोजी कार्यमा कठिनाई भैरहेको बताए । गोताखोरको माध्यमबाट दम्पत्तीको खोजी कार्य भैरहेको छ । ‘खोजी कार्य भैरहेको छ’ उनले भने –‘गोताखोरले पानी धमिलो भएकाले कठिन भैरहेको बताएका छन ।’

Khadga Memorial And Janajagriti

डोटीको आदर्श गाउँपालिका –३ काँडेका चन्द्र प्रकाश जोशी र उनकी श्रीमती रुबी जोशी जीपसँगै कर्णाली नदीमा खसेका थिए । उनीहरु कर्णाली चिसापानीबाट करिव साढे तीन किलोमिटर उत्तर मोहन्याल गाउँपालिका–७ बतासे डाँडाबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुसँगै जीपमा रहेका तीन बालबालिका भने घाईते अवस्थामा नदी किनारमा भेटिएका थिए । घाईते अवस्थामा भेटिनेमा १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन । उनीहरु सबै जोशी दम्पत्तीका छोराछोरीहरु हुन । उनीहरुको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सो जीप जोशी आफैले चलाएको बताईएको छ । जीप ब्याक गर्ने क्रममा नदीमा खसेको हुनसक्ने प्रहरीको आशंका छ । जोशीको परिवार नेपालगञ्जमा उपचार गरेर घर फर्किने क्रममा चिसापानी–सोल्टा सडक खण्ड घुम्न गएको बुझिएको छ ।

उता कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा डुबेर बेपत्ता बालिकाको शव आज बिहान साढे सात बजेतिर भेटिएको छ । प्रहरीका अनुसार भजनी नगरपालिका–९ डोङपुरका धनबहादुर सिँहकी ६ वर्षकी छोरी अनु सिँहको शव घटनास्थ्लबाट झण्डै ३ किलोमिटर तल भेटिएको हो ।

उनीसँगै नदीमा डुबेर बेपत्ता भएका धनबहादुर सिँहकै ९ वर्षका छोरी लक्ष्मी सिँह र सोही ठाउँका रामफल चौधरीका ७ वर्षकी छोरी जेनी चौधरीको शव भने हिजै भेटिएको थियो ।

उनीहरु नुहाउन गएका बेला दिउसो साढे चार बजे नदीमा डुबेर बेपत्ता भएका थिए । कान्द्रा नदीमा नुहाउने क्रममा वर्षेनी बालबालिकाको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update