Hamro Patra
कान्द्रामा डुबेर दुई बालिकाको ज्यान गयो, कर्णाली नदीमा जीप खस्दा दुई बेपत्ता

टीकापुर, साउन १५
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ भने एक बेपत्ता छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार भजनी नगरपालिका–९ डोङपुरका धनबहादुर सिँहकी ९ वर्षका छोरी लक्ष्मी सिँह र सोही ठाउँका रामफल चौधरीका ७ वर्षकी छोरी जेनी चौधरीको ज्यान गएको हो । उनीहरुसँगै डुबेकी धनबहादुरकी ६ वर्षकी अर्की छोरी अनु सिँह बेपत्ता छन । उनको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

उनीहरु नुहाउन गएका बेला आज दिउसो साढे चार बजे नदीमा डुबेर बेपत्ता भएका हुन । कान्द्रा नदीमा नुहाउने क्रममा वर्षेनी बालबालिकाको ज्यान जाने गरेको छ ।

Khadga Memorial And Janajagriti

त्यस्तै कैलालीको मोहन्याल गाउँपालिका–७ बाँकामा नम्बर नखुलेको जीप कर्णाली नदीमा खस्दा दम्पत्ती बेपत्ता भएका छन । एसपी अधिकारीका अनुसार डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्र प्रकाश जोशी र रुबी जोशी नदीमा बेपत्ता भएका हुन ।

उनीहरुका तीन जना छोराछोरी घाईते अवस्थामा नदी किनारमा भेटिएको प्रहरीले जानकारी दिएको छ । घाईते अवस्थामा भेटिनेमा १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन ।
उनीहरुको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । उनीहरु मध्ये सावित्रा र भुवनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

एसपी अधिकारीले उनीहरु चढेको जीप नदीमा भेटिएको बताएका छन । उनका अनुसार अहिले जीप नदी बाहिर निकाल्ने प्रयास भैरहेको छ । उनले सो जीप जोशी आफैले चलाएको बताए । जीप ब्याक गर्ने क्रममा नदीमा खसेको हुनसक्ने एसपी अधिकारीले बताए ।

जोशीको परिवार नेपालगञ्जमा उपचार गरेर घर फर्किने क्रममा चिसापानी–सोल्टा सडक खण्ड घुम्न गएको बुझिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update