Hamro Patra
कैलाली प्रहरीलाई नागरिकसँग जोड्दै एसपी अधिकारी

टीकापुर, साउन ४
कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार्न विभिन्न कार्यक्रम लागु गरेका छन । उनले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै ‘हाम्रो प्रहरीसँग हामी’, सेवाग्राही अभिलेखीकरण तथा पृष्ठपोषण र ‘सेभ फ्युचर’ नामक तीन कार्यक्रम लागु गरेको जानकारी दिए ।

उनले ‘हाम्रो प्रहरीसँग हामी’ नामक कार्यक्रमले हरेक विकृती विसंगीत विरुद्ध प्रहरी नागरिकबीचको हातेमालो रहने बताए । उनले प्रहरी एक्लैले कुनैपनि विकृती विसंगती हटाउन नसक्ने बताउँदै नागरिकको साथ र सहयोग अपरिहार्य रहने बताए । ‘प्रहरीले मात्रै समस्याको समाधान गर्न सक्दैन’ उनले भने–‘नागरिकको साथ सहयोग चाहिन्छ । म त्यस्तो अपेक्षा राख्दछु ।’

CMA Staff

लामो समय नेपाल प्रहरीको नीति निर्माणमा रहेर काम गरेका एसपी अधिकारी ‘प्रहरी मेरो साथी’ कार्यक्रमका योजनाकार हुन । उनले संगठनमा प्रहरी र नागरिकबीचको साझेदारीलाई अघि बढाउन प्रेरित गर्ने गरेका छन ।

उनले सेवाग्राही अभिलेखीकरण तथा पृष्ठपोषण कार्यक्रमले नागरिकको प्रहरीसँगको सम्बन्ध र सम्पर्कलाई प्रगाढ बनाउने बताए । उनले प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीको अभिलेख राखिने र उनीहरुले दिएका सुझावलाई रेकर्डमा राखिने जानकारी दिए । उनले यसो गर्दा नागरिकले समयमै सेवा पाउने विश्वास व्यक्त गरे ।

‘एउटा फाराम दिन्छौं । त्यो फाराममा सबै कुरा उल्लेख रहन्छ’ उनले भने–‘काम सम्पन्न भएपछि नागरिकले त्यो फाराममा आफ्ना सुझाव लेखेर दिन्छन । हामी ती सुझावलाई आत्मसात गर्छौ र व्यवहारमा लागु गर्छौ ।’

उनले बढ्दो लागुऔषध दुव्र्यसनलाई मध्यनजर गर्दै ‘सेभ फ्युचर’ कार्यक्रम लागु गरेको बताए । उनले आफ्नो र आफ्ना सन्ततिको जीवन बचाऔं भन्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको जानकारी दिए । ‘लागुऔषधले युवापुस्ता गलत बाटोमा गैरहेको छ’ उनले भने–‘हामीले समयमै यसलाई रोक्नुपर्छ ।’

उनले लागुऔषध दुव्र्यसन रोक्न जिल्लाभर प्रहरी सकृय रुपमा जुटेको बताउँदै लागुऔषध भित्रिने ठाउँमै नियन्त्रण गर्ने प्रयास भैरहेको बताए । उनले जिल्लाभर लागुऔषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउने तयारी भैरहेको जानकारी दिए । ‘अहिले कोरोनाले मासमा यस्ता कार्यक्रम गर्न गाह्रो छ’ उनले भने–‘माहौल सहज हुने बित्तिकै हामी यस्ता कार्यक्रम लगेर समुदायमा जान्छौं ।’

उनले सो अवसरमा गत आवमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन भएका काम कारवाहीका बारेमा समेत जानकारी दिए । उनका अनुसार गत आवमा जिल्ला प्रहरी कार्यालयमा १३०७ मुद्दा दर्ता भएका थिए । यो संख्या अघिल्लो आवको तुलनामा ४ दशमलव ३८ प्रतिशतले घटेको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update