Hamro Patra

टीकापुर, साउन १

कैलालीको टीकापुरमा साउने संक्रान्तिको अवसर पारेर आयोजित नगर पालिकास्तरीय खुल्ला तथा भेटान ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । टीकापुर बसपार्क युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा टीकापुर नगरपालिका भित्रका खुल्लातर्फ १६ टिम र भेटान ५० वर्ष माथि उमेर समूहका ४ टिमको सहभागिता रहेको छ ।

Khadga Memorial And Janajagriti

आज भएको उद्घाटन खेलमा तपेन्द्र कुँवर र दुर्गा शाहुको जोडीले रामप्रसाद सुवेदी र नवीन चौलागाईंको जोडीलाई पराजित गरेको छ । कुँवरको जोडीले सुवेदीको जोडीलाई सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै आजै भएको अर्को खेलमा शैलेस साउँद र जनक साउँदको जोडीले सुभाषसिंह ठकुरी र निमेष सिंह ठकुरीको जोडीलाई सोझो सेटमै पराजित गरेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै टीकापुर बहुुमुखी क्याम्पसका प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावलले टीकापुर क्षेत्रको माटो खेल र खेलाडीको लागि उर्बर भएको बताए । टीकापुरले विगतका दिनमा राष्टिय, अन्तर्राष्टिय स्तरका खेलाडीहरु जन्माएको स्मरण गर्दै प्रा.डा. रावलले भने ‘पछिल्लो केही समय यता खेल प्रतियोगिताहरु कम हुनु, खेलाडीलाई प्रोत्साहन नहुनुले त्यो क्रम रोकिएको छ ।’ उनले यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई कुलतबाट जोगाउँदै खेलको विकासमा योगदान पुर्याउने बताए ।

टीकापुर बसपार्क युवा क्लबको अध्यक्ष वीरेन्द्र कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव नरेशकुमार खत्री, टीकापुर उद्योग वाणिज्य संघका सदस्य तपेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो । ब्याडमिन्टन प्रतियोगिताका संयोजक तेजबहादुर थापाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. रावलले एम्पाएरलाई कक हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।

बसपार्कस्थित कोर्डमा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिवार हुने प्रतियोगिताका उपसंयोजक तपेन्द्र साउँदले जानकारी दिए । साउँदले दिएको जानकारी अनुसार प्रतियोगितामा खुल्लातर्फ प्रथम हुने टिमले १५ हजार, उपविजेता टिमले १० हजार नगद तथा भेटानतर्फ प्रथम हुने टिमले ५ हजार र उपविजेता टिमले ३ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update