Hamro Patra
टीकापुर खानेपानीले तीन गुणा बढी महशुल बढायो

टीकापुर, साउन १
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पानीको महशुल तीन गुणा बढाएको छ । संस्थाले प्रति यूनिट साविक न्यूनतम मासिक ५० रुपैयाँलाई १५० पुर्याएको छ । उसले प्रति यूनिट पानीको मात्रामा समेत वृद्धि गरेको छ । यसअघि ८ हजार लिटर प्रति यूनिट रहेकोमा अबदेखी प्रति यूनिटमा १० हजार लिटर गणना हुनेछ ।

संस्थाले व्यहोर्दै आएको मासिक घाटालाई कम गर्न पानीको महशुल दर बढाउनु परेको अध्यक्ष भैरव रावलले जानकारी दिए । उनले हाल संस्थाले मासिक नौ लाख रुपैयाँ घाटा व्यहोर्दै आएको बताए । ‘महिनामा नौ लाख घाटा भैरहेको छ’ उनले भने–‘पानीको महशुल बढाउनुको विकल्प रहेन ।’

संस्थालाई १६ करोड १० लाख रुपैयाँ ऋण छ । उसले खानेपानी आयोजना सम्पन्न गर्न २०७२ सालमा नगर विकास कोषसँग १३ करोड रुपैयाँ ऋण लगेको थियो । त्यसको साँवा ब्याज, मर्मत सम्भार, कार्यालय सञ्चालन लगायतको रकम जोड्दा संस्था मासिक नौ लाख रुपैयाँ घाटामा रहेको अध्यक्ष रावलले बताए ।

Khadga Memorial And Janajagriti

यो आयोजना ५३ करोड ४० लाख ३६ हजार ७२६ रुपैयाँको लागतमा २०७४ सालमा निर्माण सम्पन्न भएको हो । आयोजनामा ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत नगर विकास कोषको ऋण र ५ प्रतिशत उपभोक्ताको लगानी रहेको छ ।

अध्यक्ष रावलले हालै बढाईएको पानीको महशुल अन्य ठाउँको तुलनामा कम रहेको दावी गरे । उनका अनुसार अन्यत्रका खानेपानी आयोजनामा मासिक प्रति यूनिट १६५ रुपैयाँ भन्दा बढी महशुल दर तोकिएको छ । ‘हामीले दाङदेखी पोखरासम्मका खानेपानीमा अध्ययन गरेर महशुल दर निर्धारण गरेका हौं’ उनले भने–‘हाम्रोमा अरुको भन्दा कम छ ।’

संस्थाले पानीको महशुल दर बढाउने प्रयत्न सुरुदेखी गर्दै आएको थियो । अघिल्लो र वर्तमान कार्य समितिले पानीको महशुल बढाउनका लागि अध्ययन गर्न समिति समेत गठन गरेका थिए । अघिल्लो कार्य समितिले सुरतबहादुर कुँवर र वर्तमान कार्य समितिले बिसराम चौधरीको नेतृत्वमा समिति गठन गरेको थियो । ती दुवै समितिले पानीको महशुल बढाउनुपर्ने प्रतिवेदन बुझाएका थिए ।

तर तत्कालिन अवस्थामा पानीको गुणस्तर त्यति प्रभावकारी नभएका कारण संस्थाले महशुल बढाउने हिम्मत गर्न सकेको थिएन । यतिबेला भने संस्थाले पानीको गुणस्तर बढाएको छ । उसले चारवटै ट्याङ्कीमा पानीको गुणस्तरका लागि फिल्टर जडान गरेको छ । ‘पानीको गुणस्तर निकै धेरै राम्रो छ’ अध्यक्ष रावलले भने–‘हामी अझै राम्रो बनाउने प्रयासमा छौं ।’

संस्थामा ७ हजार २३६ उपभोक्ता आवद्ध छन । ती मध्ये ६ हजार ६६७ जनाको घरमा धारा जडान भएको छ । संस्थाका अनुसार कतिपय उपभोक्ता बनेका छन तर उनीहरुले घरमा धारा जोडेका छैनन् । संस्थाले दैनिक ४५ लाख लिटर पानी उत्पादन गर्छ । त्यो मध्ये ३० लाख लिटर उपभोक्ताले उपभोग गर्छन । बाँकी पानी ट्याङ्की सफा गर्दा, फिल्टर गर्दा, चुहावट लगायतमा खर्च हुने गरेको अध्यक्ष रावलले बताए ।

संस्थाका सचिव नरेशकुमार खत्रीले बढेको महशुल दर साउन महिनादेखी लागु हुने जानकारी दिए । उनले न्यूनतम यूनिट भन्दा बढी पानी प्रयोग गर्नेका लागि प्रति लिटरको महशुल दर कार्य समितिले चाँडै निर्धारण गर्ने जानकारी दिए ।

संस्थाकै पहलमा टीकापुर नगरपालिकाको बजार क्षेत्रमा ढल निकास र फोहोर व्यवस्थापनको काम समेत सुरु भएको छ । यसअघि समेत संस्थाले फोहोर व्यवस्थापनका क्षेत्रमा काम गरेको छ । उसले विभिन्न सार्वजनिक स्थलमा शौचालय निर्माण गरिदिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update