टीकापुर, असार ३१
टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा कसैले जानाजान आगजनी नगरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले अनुसन्धानका क्रममा आम मानिसले शंका गरे जस्तो अन्य कसैले आगजनी गरेको नदेखिएको बताए ।
‘बाहिरको मान्छे आएर आगजनी गरेको देखिदैन’ उनले भने–‘कामदारबाटै कमि कमजोरी भएको हो कि जस्तो देखिन्छ ।’
उनले निर्माणाधिन भवनमा काम गरिरहेका छ जना कामदारलाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ भैरहेको जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका मध्ये चार भारतीय र दुई नेपाली नागरिक छन । उनीहरु काम गरिरहेको अवस्थामा बिहान साढे १० बजे निर्माणाधिन भवनमा अचानक आगजनी भएको थियो ।
हाल रहेको स्थानबाट बिओपी मोहना नदी पारी करिव एक किलोमिटर दक्षिणतर्फ सीमा क्षेत्र नजिकै सार्ने क्रममा भवन निर्माणको काम भैरहेको छ । बिओपी हाल सत्ती भन्सार कार्यालयको जग्गामा अस्थायी रुपमा राखिएको छ ।
बिओपी इञ्चार्ज सशस्त्र प्रहरी निरिक्षक पदम भट्टले समेत कामदारकै कमि कमजोरीका कारण आगजनी भएको हुनसक्ने बताए । उनले कामदारले धु्रमपान गरेको वा वल्डिङको काम गर्दा लापरवाही भएको हुनसक्ने आशंका गरे । उनका अनुसार भवन निर्माणको काम अन्तिम चरणमा रहेको थियो ।
उनले अन्य कसैले आगजनी गर्न चाहेको भए रातिको समयमा त्यस्तो घटना हुनसक्ने बताए । ‘यदि कसैले जलाउन चाहेको भए राति यस्तो काम गथ्र्यो’ उनले भने–‘दिउसोको समयमा यस्तो काम कसैले गर्न सक्दैन ।’
उनले आगजनीबाट करिव १० लाख रुपैयाँ क्षति भएको जानकारी दिए । उनका अनुसार मर्मतको काम भोलिबाटै सुरु हुन्छ । उनले आगजनीबाट काठ र कर्कटपाता जलेको भएपनि भवनको फाउण्डेसनमा कुनै असर नपुगेको बताए ।
आगजनी टीकापुर नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिईएको थियो । आगजनी नियन्त्रणमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटेका थिए ।