Hamro Patra
मेयरका कारण वडा विभाजन हुन नसकेको आरोप

टीकापुर, असार ३१
टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनको प्रस्ताव पेश नगरेरै सम्पन्न भएको छ । कार्यपालिका बैठकमा ब्यापक छलफल भएपनि वडा विभाजनका बारेमा नगरसभामा प्रस्ताव पेश हुन सकेन ।

असार ६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुटाउने भन्दै पटकपटक स्थगित हुँदै आएको थियो । यसअघि पुसमा सम्पन्न आठौं नगरसभामा भने वडा विभाजनको प्रस्ताव पेश भएको थियो । त्यतिबेला नगरसभा सदस्यहरुबीच वडा विभाजनको प्रस्तावमा मत बाझिएको थियो । कुनै पक्षले दुईतिहाइ जुटाउन नसक्ने देखिएपछि वडा विभाजनको प्रस्तावलाई नवौं नगरसभा मार्फत टुङ्गोमा पुर्याउने सहमति गरेर प्रस्ताव स्थगित गरिएको थियो ।

नवौं नगरसभाको पूर्वाद्र्धमा वडा विभाजनको मुद्दा जोडदार उठ्यो । वडा विभाजनमा फेरी पनि विवाद हुने देखिएपछि नगरपालिकाले राजनीतिक स्तरबाट सहमतिको प्रयास खोजेको थियो ।

Khadga Memorial And Janajagriti

राजनीतिक दलहरुले पहिलो पटक हालको वडा नं. १ लाई ५ र वडा नं. २ लाई २ वडामा विभाजन गर्न सुझाव दिएका थिए । हाल नगरपालिकामा ९ वटा वडा छन । वडा नं. १ लाई ५ वडामा विभाजित गर्दा आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र भएको भन्दै वनगाउँका बासिन्दाले विरोध जनाएका थिए । उनीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरे । वनगाउँमा थारु समुदायको बसोबास रहेको छ ।

वनगाउँका बासिन्दाले विरोध जनाउँदै तालाबन्दी गरेपछि नगरपालिकाले पुनः राजनीतिक दलहरुलाई गुहारेको थियो । राजनीतिक दलहरुले दोस्रो पटक वडा नं. १ लाई ६ वडामा विभाजन गर्न सुझाव दिएका थिए । राजनीतिक दलहरुको दोस्रो सुझावलाई लिएर ब्लक नं. बी, सी र ब्लक नं. २४ र २५ का बासिन्दाले विरोध जनाए ।

वडा विभाजनको विषयमा एकपछि अर्को पक्षले विरोध जनाउन थालेपछि नगरपालिका अफ्ठ्यारोमा परेको थियो । कार्यपालिका बैठकमा पटकपटक छलफल गर्दा पनि सहमति जुट्न सकेको थिएन । स्रोतका अनुसार कार्यपालिका बैठकमा वडा नं. १ लाई ६ वडामा विभाजन गर्ने पक्षको बहुमत थियो ।

वडा विभाजनको पक्षमा रहेका वडाध्यक्ष रामलाल डगौरा थारुले असहमत पक्षसँग छलफल नै नगरी नगरसभामा वडा विभाजनको प्रस्ताव नलिनुलाई मेयर तपेन्द्रबहादुर रावलको बदमासी भएको आरोप लगाए । उनले मेयरले नै वडा विभाजन गर्न नचाहेको बताए । ‘सबै विकल्प राखेर नगरसभामा प्रस्ताव लैजान आग्रह गर्दा पनि मान्नु भएन’ उनले भने–‘वडा विभाजन मेयरले नै नचाहेको देखियो ।’

वडा विभाजनको पक्षमा रहेका अर्का नगरसभा सदस्य रमेश विकले मेयरले आफू अनुकुल हुने नदेखेपछि वडा विभाजनको प्रस्ताव नगरसभामा पेश नगरेको बताए । उनले समेत मेयरकै कारण वडा विभाजन हुन नसकेको बताए । ‘आफू अनुकुल नभएपछि प्रस्ताव अघि बढाईएन’ उनले भने–‘फेरी पनि जनतालाई दुःख दिने काम भयो ।’

मेयर रावलले वडा विभाजन रोकेको आरोप अस्विकार गरेका छन । उनले नगरपालिकाको आन्तरिक आयले धेरै वडा कार्यालय बनाउन नसक्ने भएपछि कम वडा कार्यालय बनाउने कुरामा सहमति जुट्न नसकेको जानकारी दिए । ‘मैले २ वा ३ वडा थपौं भनेर सहमति खोजेको हुँ’ उनले भने–‘कसैले त्यसमा सहमति जनाएनन् ।’
उनले नेपाल सरकारले वडा कार्यालयको सञ्चालन आन्तरिक आयबाटै गर्न परिपत्र गरेपछि धेरै वडा थप्ने कुरा असम्भव जस्तै बनेको बताए ।

उनले वडा विभाजनमा राजनीतिक दल, जाति र समुदायका आ–आफ्ना स्वार्थ जोडिएकाले पनि समस्या भएको बताए । ‘सबैले आफूलाई केन्द्रमा राखेर कुरा गरेपछि अन्य खालका संकेत पनि देखिन थाले’ उनले भने–‘सबैका स्वार्थ पूरा हुने गरी सहमति जुटाउन सकिएन ।’

टीकापुर नगरपालिकामा हाल नौवटा वडा रहेका छन । जनसंख्याका हिसाबले वडा नं. १ नेपालको सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ ५० हजार भन्दा बढी जनसंख्या छ ।
जनसंख्या बढी भएपछि सेवाप्रवाहमा समस्या भएको भन्दै वडा नं. १ लाई विभाजन गर्नुपर्ने माग सुरुदेखी उठ्दै आएको छ । सिमित जनशक्तिका कारण वडाको दैनिक कामकाज निकै प्रभावित हुने गरेको छ । नगरपालिकाले अहिलेसम्म वडा नं. १ मा जनसंख्याको अनुपातमा थप जनशक्तिको व्यवस्था गर्न सकेको छैन । वडा विभाजन नहुने भएपछि फेरी पनि वडा नं. १ का बासिन्दाले वडा कार्यालयबाट हुने दैनिक कामकाजमा ढिलासुस्ती भोग्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update