टीकापुर, असार २९
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथौं तथा पाँचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको साधारणसभा समेत यसै वर्ष सम्पन्न भएको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले खानेपानीको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
‘शुद्ध पिउने पानी जनताको नैसर्गिक अधिकार हो, खानेपानीको विकास र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्नेछ’ मन्त्री सोडारीले भने ‘सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेर लागि रहेको छ, टीकापुर क्षेत्रमा विभिन्न योजनाका कामहरु भइरहेका छन् ।’
झण्डै ६ हजार ८ शय घरधुरीलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाको वार्षिक साधारणसभामा संविधान सभा सदस्य हरिलाल ज्ञवाली, सुदूरपश्चिम प्रदेश सदस्य उमादेवी बादी, संस्थाका संस्थापक अध्यक्ष नवराज रावल, टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष गंगाराम आचार्य, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै नेकपा एमालेका नेता प्रेमबहादुुर साउँद, नेपाली काँग्रेसका नगर सभापति धनराज उपाध्याय, जनता समाजवादी पार्टीका हरि तिमिल्सेना, राष्टिय जनमोर्चाका दयाराम सञ्ज्याल, सल्लाकार उदमराम अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच टीकापुर साना शहरी खानेपानी आयोजना सञ्चालनताका ठूलो रकम उपलब्ध गराएर सहयोग गर्ने दाताहरुलाई समेत संस्थाले सम्मान गरेको छ ।
आयोजना सञ्चालनका लागि सापटी रकम सहयोग गर्ने टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस, व्यवसायी टीकाराम जैशी, समाजसेवी गोरबहादुर खड्का तथा निर्माण व्यवसायी अमरसिंह रावल (डम्मर)लाई दोसल्लासहित सम्मान गरिएको हो ।
कार्यक्रममा संस्थाको नियमावली अनुसार चौथौं वार्षिक साधारणसभामा कार्यालयका कर्मचारी सव इञ्जिनियर चरित्र रावल तथा पाँचौं साधारणसभामा मिटर निरीक्षक महेन्द्र रावललाई कदरपत्रसहित नगद पुरस्कारले उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष भैरव रावलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोपिराम जैशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव नरेशकुमार खत्रीले गरेका थिए ।