Hamro Patra
१५ वर्षकी किशोरीले गरिन नाबालकको योजनावद्ध हत्या

टीकापुर, असार २४
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलिप बिष्टका साढे तीन वर्षका नाबालक छोरा विवेक बिष्टको योजनावद्ध ढंगले हत्या गरिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज टीकापुरमा पत्रकार सम्मेलन गरी घटनाका बारेमा जानकारी दिएको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले हत्यामा मृतक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरी सकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेको देखाएको जानकारी दिए । उनी हाल प्रहरीको नियन्त्रणमा छिन । प्रहरीले अर्की एक १४ वर्षकी किशोरी (सकुन्तलाको साथी) लाई समेत नियन्त्रणमा लिएको छ । एसपी अधिकारीका अनुसार सकुन्तलाको साथीको भने हत्यामा प्रत्यक्ष संलग्नता रहेको देखिदैन ।

घटना अनुसार दिदी नातापर्ने सकुन्तलाले मृतक नाबालकलाई खेल्न जाने भन्दै असार २१ गते बिहान ११ बजे आफूसँगै लगेर गईन । उनीहरु छिमेकी समेत हुन । उनले नाबालकलाई खेलाउने बहानामा डोर्याउदै जमरा कुला तर्फ लगिन । उनीहरुको घर र जमरा कुलो झण्डै एक किलोमिटरको दूरीमा छ ।

Khadga Memorial And Janajagriti

उनले विवेकलाई घर भन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाईन । त्यसपछि उनीहरु कुलातर्फ हिँडे । कुलाको किनार नपुग्दै बाटोको छेउमा बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाईएको छ । उनले विवेकलाई त्यहाँ पिङ खेलाईन । उनीहरु पिङ खेलिसकेपछि फेरी कुलाको किनारतर्फ हिँडे ।

पिङ भएको ठाउँबाट कुलाको किनारतर्फ जाने छोटो बाटो भएकोमा उनीहरुले लामो बाटो प्रयोग गरेका छन । अनुसन्धानका क्रममा सकुन्तलाले लामो बाटो प्रयोग गर्नुको कारण छोटो बाटोमा विवेक जान नमानेको बताएकी छन । ‘त्यो बाटोमा झाडी धेरै छ’ घटनास्थलमा अनुसन्धानका लागि पु¥याईएकी उनले एसपी अधिकारीसँग भनिन्–‘बाबु जान मानेन ।’

उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन । त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन । उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाईन र कुलोमा धकेलिन ।

विवेकलाई कुलोमा धकेले पछि उनी घर फर्किईन । उनले विवेकको खुट्टाबाट निकालेको चाँदीको बाला हाल प्रहरीको नियन्त्रणमा रहेकी साथीलाई राख्न दिईन । उनी त्यसपछि आफ्नो घर गएर लुगा फेरिन ।

आफ्नो घरबाट निस्केकी उनी त्यसपछि अन्य चारजना साथीहरुको घरमा पुगेकी थिईन । ती मध्ये दुईजनाले बजार पुगेर चाँदीको बाला बेच्ने प्रयास गरेको कुरा अनुसन्धानका क्रममा देखिएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार चाँदीको बाला बेचेर दुवैजनाले काठमाण्डौं जाने सल्लाह गरेका थिए ।

उनले चाँदीको बाला निकाल्नु र त्यसलाई साथीसँग राख्न दिनुलाई घटना अन्यत्र मोड्न खोजेको प्रहरीसँग भनेकी छन । ‘यो घटना एकदमै चलाखीपूर्ण ढंगले गरिएको देखिन्छ’ एसपी अधिकारीले भने–‘१५ वर्षको किशोरीले हत्यामा आफ्नो संलग्नताका प्रमाण मेटाउन खोज्नुले घटना गम्भिर रहेको देखाउँछ ।’

सकुन्तलाले सुरुमै घटनालाई अन्यत्र मोड्न खोजेकी थिईन । उनले जामुन खाएर फर्किने क्रममा आफू साथीको घर किताब लिन गएको र भाई समेत आफ्नो साथीको घर खेल्न गएको भनेकी थिईन । उनले नाबालककी आमालाई विवेक साथीको घरमा रहेको जानकारी दिएकी थिईन ।

जब विवेककी आमा त्यहाँ गईन त्यसपछि मात्रै विवेक बेपत्ता भएको रहस्य खुलेको थियो । त्यसपछि मात्रै विवेकको खोजी सुरु भएको थियो । सुरुमा सकुन्तलाले भाइलाई छोडेको ठाउँनेर अटो रोकिएको, पानी बोक्ने गाडी आएको, टिप्पर हिँडेको जस्ता कुरा प्रहरीलाई बताईन । उनी सुरुमै प्रहरीको ध्यान अन्तै मोड्न चाहन्थिन ।
प्रहरीले घटनालाई उनीसँगै जोडेर अनुसन्धान बढायो । सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी पुरुषोत्तम कँडेल आफै घटनास्थल पुगे । कैलालीका प्रहरी प्रमुख एसपी अधिकारी आफै अनुसन्धानमा जुटे ।

प्रहरीलाई सकुन्तलाले चाहेर पनि अन्त मोड्न सकिनन् । उसले बालकको खोजी र अनुसन्धानलाई एकसाथ अघि बढायो । प्रहरी सकुन्तलाको कुराबाट विवेकको शव कुलोमै छ भन्ने कुरामा निश्चित भैसकेको थियो । प्रहरीले कुलोको पानी मुहानबाटै थुनेर सुकायो ।

प्रहरीले असार २३ गते साढे ५ बजे घटनास्थलबाट करिव ५ किलोमिटर तल टीकापुर नगरपालिका वडा नं. ४ बाघमारास्थित कुलोमा नाबालकको शव भेटाएको थियो । उनको शव पानीमा रहेको बेतको झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

सकुन्तलाले पारिवारिक रिसिईबीका कारण विवेकको योजनावद्ध ढंगले हत्या गरेको प्रहरीले दावी गरेको छ । एसपी अधिकारीले थप दुईजना शंकाको घेरामा रहेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए । ‘हत्यामा अन्य कुनै पक्ष पनि संलग्न छ कि भनेर अनुसन्धान भैरहेको छ’ एसपी अधिकारीले भने–‘हामी अनुसन्धानको क्रममै छौं ।’
(हत्या आरोपी र उनका साथीहरु नाबालिग भएकाले उनीहरुको परिचय गोप्य राखिएको हो ।)

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update