टीकापुर, असार २३
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट दुई दिन अघि बेपत्ता नाबालक विवेक बिष्ट आज मृत अवस्थामा भेटिएका छन । उनको शव झण्डै ५ किलोमिटर तल टीकापुर नगरपालिका –४ बाघमारास्थित जमरा कुलोमा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार नाबालक बिष्टको शव कुलोको पानीमा रहेको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो । स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमवार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।
उनी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए । पुनमले प्रहरीसँगको बयानमा आफू विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिईन । उनले विवेककी आमालाई समेत त्यसै भनेकी थिईन ।
प्रहरीले घटनाका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको जनाएको छ । डिएसपी सापकोटाले आफू घटनास्थलमै रहेको र घटनाका बारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।
उनका अनुसार नाबालकको लुगा र कानमा रहेको सुनको मुन्द्रा जस्ताको त्यस्तै रहेपनि हातमा रहेको भनिएको चाँदीको बाला भने भेटिएको छैन । डिएसपी सापकोटाले घटनाका बारेमा धेरै तथ्य लुकेको हुनसक्ने बताए ।