Hamro Patra
३ वर्षे नाबालक २४ घण्टादेखि बेपत्ता

टीकापुर, असार २२

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ८ का तीन वर्षे एक नाबालक २४ घण्टादेखि हराई रहेका छन् ।

सोमवार विहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षे छोरा विवेंक विष्ट २४ घण्टादेखि हराएका हुन् ।

Khadga Memorial And Janajagriti

उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा आफन्तको घर गएपछि बालककी आमाले त्यहाँ जाँदा विवेंक त्यहाँ नगएको थाहा भएपछि आफन्तले खोजी तिब्र पारेका थिए ।

इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं, दुई जना प्रहरीलाई मात्रै खटाए’ विष्टले भने ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर डिएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’

पटक पटक फोन गर्दासमेत इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले फोन रिसिभ गरेका थिएनन् ।

नाटकीय रुपमा नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै गए रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । टीकापुर एसपी अधिकारीको गृहनगर हो ।

आज विहान दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीले अनुसन्धान शुरु गरेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले नाबालकको अवस्थाबारे अहिलेसम्म केही पत्ता नलागेको बताए । उनले भने ‘एसपी साप समेत यहीं हुनुहुन्छ, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।’

घर नजिकैबाटै दिनदहाडै नाबालक नाटकीय रुपमा हराएपछि यस क्षेत्रका बालबालिका तथा अभिभावकमा त्रास फैलिएको छ ।

‘बच्चा हराएको घटनापछि हामी र हाम्रा बालबालिका निकै डराएका छौं’ स्थानीय दीपक विष्टले भने ‘दिनदहाडै यसरी घर नजिकैबाट नाबालक हराएपछि बालबालिकामा समेत त्रास फैलिएको छ, उनीहरु घरबाट बाहिर निस्किनै डराई रहेका छन् ।’

नाबालकका आफन्तहरुले बालकको तत्काल खोजी गरिदिन प्रहरी समक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update