Hamro Patra
टीकापुरको नगरसभा फेरी स्थगितः वडा विभाजन प्रति तिब्र असन्तुष्ठी

टीकापुर, असार १९
टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरी पनि स्थगित भएको छ । वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तिब्र असन्तुष्ठी भएपछि नगरसभा स्थगित हुँदै आएको छ । आज हुने भनिएको नगरसभा असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता दीर्घ ठकुल्लाले जानकारी दिए । असार ६ गते सुरु भएको नगरसभा पटकपटक स्थगित हुँदै आएको छ ।

राजनीतिक दलहरुले वडा विभाजनमा आफैले दिएको अघिल्लो सुझावलाई फेरेपछि नागरिकस्तरमा असन्तुष्ठी बढेको हो । दलहरुले वडा नं. १ लाई ५ वडामा विभाजन गर्न पहिलो सुझाव दिएका थिए ।

CMA Staff

वनगाउँका बासिन्दाले ५ वडामा असहमति जनाउँदै नगरपालिकामा तालाबन्दी गरेपछि दलहरुले ६ वडा बनाउन अर्को सुझाव दिएका थिए । वनगाउँका बासिन्दाको माग सम्बोधन भएपछि अन्य ठाउँका बासिन्दा समेत वडा विभाजनको विरोधमा उत्रिएका छन । उनीहरुले दलहरुले दिएको पहिलो सुझावलाई नै कार्यान्वयन गर्न माग गरेका छन ।

राजनीतिक दलहरुको पछिल्लो सुझाव प्रति ब्लक नं. बी, सी, २४, २५ का बासिन्दाले विरोध जनाएका छन । उनीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन । उनीहरुले आफूहरुको माग सम्बोधन नभएरै नगरसभा अघि बढे राम्रो नहुने चेतावनी दिएका छन ।

वनगाउँलाई समेटेर ६ वडा हुनुपर्ने माग गर्दै आएका वडाध्यक्ष रामलाल डगौरा थारुले वडा विभाजन हुन नदिने षडयन्त्र भैरहेको बताए । उनले केही व्यक्तिहरुले जबरजस्ती नगरसभालाई प्रभावमा पार्न खोजेको बताए । ‘हाम्रो एजेण्डा पास हुन नदिने षडयन्त्र हो’ उनले भने–‘नियोजित रुपमा वडा विभाजनको विरोध भैरहेको छ ।’

नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले वडा विभाजनको मुद्दालाई बढी राजनीतिकरण गरिएको आरोप लगाए । उनले एक अर्का प्रतिको राजनीतिक इगोले वडा विभाजनको मुद्दा माथि राजनीतिकरण भैरहेको बताए । ‘यो विषयमा धेरै नै राजनीति भैरहेको छ’ उनले भने–‘हरेक व्यक्ति र गुटका आफ्ना स्वार्थ जोडिएका छन ।’

उनले वडा विभाजन जस्तो राजनीतिक मुद्दा दलीय सहमतिमै हुनुपर्छ भन्ने मान्यताले राजनीतिक दलहरुको सुझाव मागेको बताए । ‘पेलेर पनि जान सकिन्थ्यो’ उनले भने–‘राजनीतिक मुद्दा हो राजनीतिक रुपमै समाधान खोजौं भनेर सुझाव मागेका हौं ।’

टीकापुर नगरपालिकामा हाल नौवटा वडा रहेका छन । जनसंख्याका हिसाबले वडा नं. १ नेपालको सबैभन्दा ठूलो वडा मानिन्छ । यहाँ ५० हजार भन्दा बढी जनसंख्या छ ।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update