Hamro Patra
लागुऔषधको ‘हटस्पट’ बन्दै टीकापुर

टीकापुर, असार १८
कैलालीको टीकापुर लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । यहाँ खुल्ला सीमा नाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको छ ।लकडाउनका कारण सीमावर्ती बजारसम्म सहज आवागमन नभएपछिभारतीय नागरिकले नै लागुऔषध सीमा क्षेत्रसम्म पुर्याउने गरेका छन । लागुऔषध खरिदका लागि कारोवारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको पाईएको छ ।

कोरोनाका कारण शैक्षिक संस्था बन्द भएपछि धेरैजसो युवायुवतीहरु लागुऔषधको दुव्र्यसनमा फसेका छन । युवायुवतीहरु लागुऔषध दुव्र्यसनमा फसेपछि विभिन्न अपराधिक क्रियाकलापका घटना समेत बढेका छन । प्रहरीका अनुसार लागुऔषध दुव्र्यसनमा संलग्न १५ देखी ३५ वर्ष उमेरका धेरै छन । पछिल्लो समय लागुऔषध दुव्र्यसनमा फस्नेमा युवासँगै युवतीको संख्या समेत त्यत्तिकै बढेको छ । लागुऔषध कारोवारमा महिलाहरुको संलग्नता समेत धेरै देखिएको छ । उनीहरुमाथि सुरक्षाकर्मीले शंका नगर्ने अनुमानका आधारमा महिलाहरु लागुऔषध कारोवारमा संलग्न हुने गरेको पाईएको छ ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय टीकापुरले लागुऔषध कारोवारमा संलग्न यस्तै एक कारोवारी महिलालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–६ भर्तापुरकी सुमन चौधरी (२४) लागुऔषध सहित पक्राउ परेकी हुन । प्रहरीले उनको पसलबाट ६०० थान नाइट्राभेट–टेन र ९६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ ।प्रहरीका अनुसार चाउचाउको पेटी भित्र लुकाएर राखेको अवस्थामा लागुऔषध बरामद भएको हो । पक्राउ परेकी ती महिलाले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताएकी छन । उनले श्रीमान लौटन चौधरीलाई जानकारी हुने बताईन । उनका श्रीमान हाल फरार छन । सोही ठाउँका दिलिप राई (२५) लागुऔषध सहित पक्राउ परेपछि प्रहरीले चौधरीको पसलमा छापा मारेको बताएको छ । प्रहरीले राईलाई टीकापुर नगरपालिका–३ रामपुरबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६० थान नाइट्राभेट–१० र १६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ ।पक्राउ परेका राईले चौधरीको पसलबाट खरिद गरेको जानकारी दिएपछि प्रहरीले छापा मारेको थियो । उनीहरु दुवैजनालाई लागुऔषध कारोवार अन्र्तगत मुद्दा चलाईने इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यस्तै जेठ ३ गते समेत प्रहरीले लागुऔषध ओसारपोसारमा संलग्न थप दुई महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बैदीका दिलु रिमाल (२४) र राधा पाण्डे (१९) रहेका छन । प्रहरीले उनीहरुको साथबाट ९ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।उनीहरुले प्रहरीसँगको बयानमा एक भारतीय नागरिकबाट ३४ हजार रुपैयाँमा सीमा क्षेत्रबाट खरिद गरेर ल्याएको बताएका थिए । प्रहरीले उनीहरु उपर लागुऔषध ओसारपोसारको मुद्दा दायर गरेको छ । हाल उनीहरु दुवैजना प्रहरी हिरासतमा रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट हालै इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जका रुपमा सरुवा भई आएका डिएसपी सापकोटाले लागुऔषध नियन्त्रण आफ्नो प्रमुख जिम्मेवारी हुने प्रतिवद्धता व्यक्त गरे ।सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी सापकोटाले समाजलाई लागुऔषध मुक्त बनाउने प्रहरीको अभियानमा साथ दिन आग्रह गरे । उनले प्रहरीको एक्लो प्रयासले मात्रै समाज सुधारको दिशामा अघि नबढ्ने बताउँदै सबैको हातेमालो आवश्यक रहने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update