टीकापुर, असार १६
टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन ।
स्थानीयले नगरपालिकाको हालको वडा नं. १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेका छन । नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ ।
वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन । ‘यो हामीलाई अल्पमतमा पार्ने षडयन्त्र हो’ स्थानीय चम्मन चौधरीले भने–‘हामी यस निर्णयको विरोधमा छौं ।’
स्थानीयले अन्य प्रस्तावित वडाहरुलाई जनसंख्या र भुगोलका आधारमा सुहाउँदो बनाए पनि आफूहरुको बसोबास रहेको वडालाई ठूलो बनाईएको गुनासो पोखे । स्थानीय खुशीराम चौधरीले अन्य प्रस्तावित वडाको भन्दा आफूहरुको बसोबास रहेको वडाको जनसंख्या र भुगोल दुईगुणा रहेको बताए ।
‘अरु वडामा जनसंख्या र भुगोल मिलाईएको छ तर हाम्रो वडालाई भने ठूलै राखिएको छ’ उनले भने–‘यो हामी माथिको अन्याय हो । हामी सधैभरी अन्याय सहेर बस्ने पक्षमा छैनौं ।’
नगरपालिकाको वडा नं. १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ । यहाँ ५० हजार जनसंख्या रहेको छ । टीकापुर नगरपालिकामा हाल ९ वटा वडा छन । नगरपालिकाले वडा नं. १ लाई ५ र वडा नं. २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ ।