टीकापुर, असार १५
रानी जमरा कुलरीया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईले धान दिसवको अवसर पारेर आज दश जना किसानलाई सम्मान गरेको छ । आयोजनाको कमाण्ड क्षेत्र भित्रका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका अन्र्तगत राम्रो काम गरेका किसान मध्ये दश जनालाई उत्कृष्ठ कृषक सम्मानद्वारा सम्मान गरिएको हो ।
उनीहरुलाई १० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रम संयोजक भरत कँडेलले एक समारोहकाबिच नगद र प्रमाण पत्र प्रदान गरेका छन ।
सम्मान ग्रहण गर्दै लम्कीचुहा नगरपालिका–७ हरद्वानीका ६८ वर्षका मायाराम न्यौपानेले बुढेशकालमा सम्मान पाउँदा खुशी लागेको बताए । उनी ११ वर्षको उमेरदेखी कृषि कार्यमा सकृय छन । उनले आलु खेतीको प्रवद्र्धन गरे वाफत उत्कृष्ठ कृषक सम्मान पाएका हुन ।
उनले ३ विगाहमा आलु खेती गर्दै आएका छन । उनका अनुसार थप ३ विगाहमा आलु खेती विस्तार गर्ने योजना छ । उनले अन्य तरकारी खेती र भैंसीपालन समेत गर्दै आएका छन ।
‘मलाई देखेर युवा पुस्ता प्रेरित होस् भन्ने मेरो चाहना छ’ उनले भने–‘यो वृद्धावस्थामा समेत सकृय हुनुको उदेश्य यही हो ।’
जानकी गाउँपालिका–९ मुर्तियाका प्रकाशबहादुर विश्वकर्मा बाख्रा पालनबाट सम्मानित भएका छन । उनले ठूलासाना गरी ७२ वटा बाख्रा पालेका छन । उनले बाख्रा पालनका लागि आफ्नो एक विगाह कम परेर थप दुई विगाह जमिन भाडामा लगेका छन ।
‘म यो सम्मानले निकै उत्साहित भएको छुँ’ उनले भने–‘बाख्रा पालनलाई अझ बिस्तार गर्ने योजनाका साथ अघि बढ्छु ।’
टीकापुर नगरपालिका–१ की ऐश्वरीदेवी जैशी व्यवशायिक गाईभैसी पालन वाफत सम्मानित भएकी छन । उनले टीकापुर बहुमुखी क्याम्पसको जमिन भाडामा लगेर ३५ वटा गाईभैसी पालेकी छन । उनले दूध बेचेर राम्रो आम्दानी भैरहेको बताईन ।
टीकापुर नगरपालिका–६ लछिनापुरका ठाकुराम चौधरी खाद्यान्न बालीको बिउ उत्पादन गर्छन । उनले खाद्यान्न बालीको बिउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन । उनलाई खाद्यान्न बालीको बिउ उत्पादन गरे वाफत सम्मान गरिएको हो ।
सम्मानित हुनेमा वैदेशीक रोजगारीबाट फर्किएर कृषि कार्यमा लागेका दुई जना समेत छन । कतारमा मासिक ८० हजार रुपैयाँ बराबरको जागिर छोडेर घर फर्किएका जानकी गाँउपालिका–६ जगतपुरका प्रल्हाद बटाला बंगुर पालनमा व्यस्त छन । त्यस्तै भारतबाट रोजगारी छोडेर फर्किएका टीकापुर नगरपालिका–२ सीतापुरका खेम विक केरा खेतीमा लागेका छन । उनले १४ विगाह जमिनमा केरा खेती गर्दै आएका छन ।
सम्मानित हुनेमा नौ जना किसान र एक कृषक समूह रहेको छ । टीकापुर नगरपालिका–१ शिवनगरमा बसोबास गर्दै आएका मुक्त कमैयाहरु संलग्न शिवमुक्त कृषक समूह सम्मानित भएको हो । समूहले च्याउ खेती गर्दै आएको छ ।
कृषि कार्यक्रम कार्यान्वयन इकाईले कृषक समूह र किसानहरुलाई सम्मान गरेको मात्रै हैन अन्य धेरैलाई कृषि उपकरण समेत सहयोग गरेको छ । कार्यक्रम संयोजक कँडेलका अनुसार ४७८ जना कृषकलाई ठूलासाना गरी ८९५ कृषि उपकरण सहयोग गरिएको छ ।