टीकापुर, असार १५
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायद्वारा सञ्चालित चैते मकै तथा धान उत्पादन वृद्धिका लागि खाद्यतत्व व्यवस्थापन परियोजना सम्पन्न भएको छ । परियोजना रानी जमरा कुलरीया सिँचाई आयोजनाको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।
माघ महिनाबाट सञ्चालन भएको परियोजनाले सिँचाई आयोजनाको कमाण्ड क्षेत्र टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका ७२ जना किसानको चैते मकै तथा धानको बारेमा अध्ययन गरेको थियो ।
परियोजनाले अध्ययनका क्रममा किसानको जमिनमा नाइट्रोजन र पोटासको मात्रा कम रहेको भेटाएको छ । परियोजना प्रमुख समेत रहेका कृषि विज्ञान संकायका डिन डा. लालप्रसाद अम्गाईले माटोमा नाइट्रोजन र पोटासको मात्रा बढाउन सके उत्पादनमा अझ धेरै वृद्धि हुने बताए ।
उनले खाद्यतत्व मोडलले चैते मकै तथा धानको उत्पादनमा वृद्धि गर्न सकिएको जानकारी दिए । परियोजना अन्र्तगत कृषि विज्ञान संकायमा अध्ययनरत १०४ जना विद्यार्थी फिल्डमा खटिएका थिए ।
टीकापुर बहुमुखी क्याम्पसमा आज आयोजित एक कार्यक्रममा परियोजना सम्पन्न भएको बताईएको छ । परियोजना समापन अवसरमा आयोजित गोष्ठीका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी रहेका थिए ।
सो अवसरमा बोल्दै उपकुलपति जोशीले कृषिको उत्पादकत्व बढाउन सके मात्रै मुलुकको परिवर्तन सम्भव रहेको बताए । उनले खेतीयोग्य जमिन मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय पालिकाहरुले खेतीयोग्य जमिनको संरक्षणमा कडा कदम चाल्नुपर्ने बताए ।
सोही कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा. यज्ञराज पाठकले किसानले सहजै मल, बिउबिजन लगायतका कुरा पाउन नसकेको बताए । उनले सरकारलाई किसानका समस्या प्रति जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरी, लम्कीचुहा नगरपालिकाका वडाध्यक्ष हरिराम चौधरी, किसान पदम बिष्ट लगायतले बोलेका थिए ।
समापन कार्यक्रममा किसानहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा परियोजना प्रमुख अम्गाईले परियोजनाले हासिल गरेका उपलब्धी समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत समेत गरेका थिए ।