Hamro Patra
मध्यपहाडी राजमार्गः अघिअघि निर्माण पछिपछि भत्किदै

टीकापुर, जेठ २८
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्र्तगत अछाममा निर्माण भएको सडक भत्किन थालेको छ । निर्माण सम्पन्न भएसँगै सडक भत्किन थालेपछि राज्यको करोडौं लगानी बालुवामा पानी सरह बनेको छ ।

कर्णाली नदी किनार बेलखेतदेखी बयलपाटासम्म निर्माण भएका तीन वटा सडक खण्डको अवस्था क्षतविक्षत छ । कतिपय ठाउँमा सडक भासिएको छ भने कतिपय ठाँउमा पहिरो गएर क्षति पुर्याएको छ ।

पिएस लामा कन्ट्रक्सनले तीन वर्षवर्ष अघि निर्माण गरेको कैलाशखोलादेखी बयलपाटासम्मको ११ किलोमिटर सडक मात्रै दर्जन बढी ठाउँमा भत्किएको छ ।

Khadga Memorial And Janajagriti

सोही राजमार्ग अन्र्तगत बेलखेतदेखी विनायकसम्मको १२ किलोमिटर सडकको अवस्था समेत उस्तै छ । सडकको अधिकांश ठाउँमा पहिरो गएको छ । सो सडक असिम निर्माण सेवाले गतवर्ष मात्रै निर्माण गरेको हो । त्यस्तै चन्द्रा एण्ड बसन्तले निर्माण गरेको सदरमुकाम मंगलसेनदेखी ठाँटीखादसम्मको १४ किलोमिटर सडकको अवस्था समेत उस्तै छ ।

कैलाशखोलादेखी बयलपाटा र मंगलसेनदेखी ठाँटीखादसम्मको सडक निर्माण कम्पनीले हस्तान्तरण गरिसकेका छन भने बेलखेतदेखी विनायकसम्मको सडक हस्तान्तरण हुन बाँकी छ ।

सडक निर्माण सम्पन्न भैसकेपछि लामो समयसम्म बेबारिसे जस्तै बनेका छन । केही समय निर्माण कम्पनीले रेखदेख गरेपनि हस्तान्तरण भैसकेपछि भने सडक बेबारिसे बनेका हुन । सरकारी पक्षले सडक मर्मत र रेखदेखमा चाँसो नदिएका कारण सडकको अवस्था वर्षेनी बिग्रिदै गएको हो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख अर्जुन बमले सडक निर्माण भैसकेपछि मर्मत सम्भार र रेखदेखको व्यवस्था हुन नसक्नु कमजोरी भएको स्विकारे । उनका अनुसार सडक डिभिजन जस्तो योजना मार्फत निर्माण भएका सडकमा मर्मत सम्भार र रेखदेखको व्यवस्था छैन । ‘हाम्रोमा मर्मत र रेखदेखको व्यवस्था नै छैन’ उनले भने–‘आगामी वर्षदेखी त्यसतर्फ बजेट विनियोजन हुन्छ ।’

उनले केही दिन अघि मात्रै सडकको स्थलगत अवलोकन गरेका छन । उनका अनुसार वर्षायाम सुरु भैसकेकाले तत्काल सडक मर्मतको सम्भावना छैन । उनले थप क्षति हुन नदिने तर्फ पहल भैरहेको जानकारी दिए । ‘एक महिनादेखी रोकथामको प्रयास भैरहेको छ’ उनले भने–‘आगामी असोजबाट मर्मतको काम सुरु हुन्छ ।’

उनले केही ठाउँमा स्थानीय पालिकाले जथाभावी सडक निर्माण गरेकोले पनि मध्यपहाडी राजमार्गलाई असर पारिरहेको गुनासो गरे । उनका अनुसार मध्यपहाडी राजमार्गको संवेदनशीलतालाई ख्याल नगरेर स्थानीय पालिकाले जथाभावी सडक बनाएका छन । ‘हामीसँग कुनै समन्वय नै छैन’ उनले भने–‘जथाभावी डोजर प्रयोग गरेर सडक निर्माण भैरहेको छ ।’

कतिपय ठाउँमा कार्यालय प्रमुख बमले भने जस्तै देखिए पनि केही ठाउँमा भने सडक भासिएको छ । कैलाशखोलादेखी जमालगाउँसम्मको उकालोमा कार्यालय प्रमुख बमले भने जस्तो स्थानीय पालिकाले निर्माण गरेका सडक छैनन् । न त त्यहाँ पानी थुनिएर पहिरो जाने अवस्था छ । तैपनि दर्जन बढी स्थानमा सडक भासिएको छ । उनले निर्माणका क्रममा कमि कमजोरी भएका कारण पनि सडक भासिएको हुनसक्ने स्विकारे । ‘तपाईले भने जस्तो कमि कमजोरी पनि भएको हुनसक्छ’ उनले भने–‘तर सबै ठाउँमा सडक कमजोर छैन ।’

उनले सडकको डिपिआरकै क्रममा प्राविधिक रुपमा क्षतिको पूर्वानुमान नगर्नुले पनि समस्या भैरहेको बताए । ‘बेलखेतदेखी विनायकसम्मको सडकको समस्या यही हो’ उनले भने–‘एउटै पहिरोले सात ठाउँमा सडक भत्काएको छ ।’

ठाउँ ठाउँमा सडक क्षतविक्षत भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भैरहेको छ । स्थानीय बासिन्दा सडकको अवस्थाकै कारण दुर्घटना हुने गरेको बताउँछन । स्थानीय ध्वजबहादुर धामीले सडक धराप बनेको बताए ।

योजना कार्यालयले हाल मध्यपहाडका पाँच जिल्लाको सडक निर्माण गरिरहेको छ । प्रमुख बमका अनुसार रुकुम पूर्वदेखी पश्चिमतर्फको ४९० किलोमिटर मध्ये २०७ किलोमिटर राजमार्ग कालोपत्रे भैसकेको छ । अन्य ठाउँमा ट्राक खोल्ने र नाली निर्माणको काम भैरहेको छ । मध्यपहाडी राजमार्गको अन्तिमविन्दु बैतडीको झुलाघाट हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update