Hamro Patra
कर्णाली प्रदेश भारतसँगको छोटो दूरीमा जोडिदै

टीकापुर, २० चैत

कर्णाली प्रदेशका लागि भारतसँग जोड्ने छोटो दूरीको सडक मार्ग चाँडै सञ्चालनमा आउने भएको छ । कैलाली र सुर्खेतको सीमा कुइनेमा निर्माणाधिन पुलले कर्णाली प्रदेशलाई भारतसँग छोटो दूरीमा जोड्ने छ ।

Khadga Memorial And Janajagriti

यो पुल निर्माण पछि सुर्खेतको बड्डीचौरहुँदै –कोहलपुर–चिसापानीसम्मको करिव २ सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा खुम्चिनेछ । जुन पूर्वपश्चिम राजमार्गको कैलालीको चिसापानीबाट कुइनेहुँदै सुर्खेतको बड्डीचौरसम्म हो । निर्माणाधिन पुलतर्फ भने कुइनेदेखी चिसापानीसम्मको ११ किलोमिटर सडकको स्तरोन्नती भैरहेको छ । चिसापानीदेखी टीकापुरहुँदै सीमा नाका खक्रौलासम्मको सडक दूरी ४४ किमी रहेको छ । उता सुर्खेततर्फ कुइनेदेखी बड्डीचौरसम्मको १९ किलोमिटर सडकमा साना सवारी साधन समेत सहजै चल्ने गरेका छन । भेरी नदीमा पुल निर्माण सम्पन्न भएपछि अटोरिक्सा समेत बड्डीचौरहुँदै कुइनेसम्म पुग्न थालेका छन । भेरी नदीमा निर्माण भएको पुल असोज महिनादेखी सञ्चालनमा आएको हो ।

यो साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो हो । यो पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछाम लगायतका जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउने भएका छन । उनीहरु हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरीयाको घुमाउरो बाटो प्रयोग गर्न वाध्य छन । कुइनेमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ ।

यो पुल निर्माणका लागि २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सडक विभागले २ वर्षसम्म डिजाइन स्विकृत नगरेका कारण पुल निर्माणको काम ढिलो गरी सुरु भएको साइड इञ्चार्ज दिनेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार २०७४ फागुनमा डिजाइन स्विकृत भएपछि पुल निर्माणको काम सुरु भएको हो । आगामी वर्षायाम भन्दा अघि पुलको मध्यभागमा रहने दुईवटा पिल्लर तयार भैसक्ने निर्माण पक्षले जानकारी दिएको छ । यसका साथै थप दुईवटा पिल्लर पुलको दुवैतर्फ रहनेछन ।

रोजगारीका लागि भारत जाने मात्रै हैन ती क्षेत्रमा खाद्यान्न, औषधि, लत्ताकपडा लगायतका सामाग्री तराईबाटै ढुवानी हुन्छ । अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरीयाबाट पहाडी जिल्लातर्फ सामाग्री ढुवानी भैरहेको छ । पुल निर्माण पछि यो सडक पहाडी जिल्लामा सामाग्री ढुवानीको छोटो विकल्प बन्नसक्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update